बिर्तामोड / सङ्खुवासभाको मादी १ उम्लिङका एकै परिवारको छ जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा छिमेकी अनि नातेदार समेत रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले हत्यामा संलग्न रहेको खुल्ने प्रमाण भेटिएको भन्दै २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका लोकबहादुरले नातामा नै उनकी हजुरआमा पर्ने ८४ वर्षीय पार्वता, ५८ वर्षीय ठुलो बुवा तेजबहादुर, ५२ वर्षीया ठुली आमा कमला, भाउजू ३२ वर्षीय रञ्जना, ११ वर्षीय भतिज दीपेन र ७ वर्षीय भतिजी गोमा कार्कीको विभत्स तवरले हत्या गरेका थिए ।
आफ्नी आमाको मृत्यु र अन्य रिसिईवीका कारण हत्या गरेको पक्राउ परेका उनले प्रहरीलाई बयान दिएका छन् । तेजबहादुरको हत्या गर्ने क्रममा अन्यले पनि देखेकाले प्रमाण मेटाउन अन्यको पनि हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।  

हत्याको विषयमा उनले अनुसन्धानमा संलग्न प्रहरीसँग गरेको कुराकानी र उनले लगाउने गरेको पोशाकमा रगतका छिटा देखिएपछि प्रहरी उनलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले नजिकै रहेको उनको घरबाट हत्या गर्न प्रयोग गरेको घरेलु हतियार अनि रड समेत बरामद भएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

पक्राउ परेका कार्कीले कक्षा ८ सम्म पढेर पढाई छाडेका थिए । वैदेशिक रोजगारका लागि मलेसिया र कतार लगायतका मुलुक पुगेपनि पुरा समय नवसि फर्किने गरेका थिए ।
मलेसियामा १० महिना मात्रै बसेर उनी फर्किएका थिए ।

मलेशियाबाट फर्केर उनी फेरि कतार गएका थिए । कतारमा पनि करिव ९ महिना मात्रै बसेर उनी फर्किएका थिए । कार्की गाउँका केटासँग नै बेसी हिँडडुल गर्ने र घरमा समेत कम बस्ने गरेका थिए ।

गत चैत २६ गते उनकी आमाको मृत्युपछि तिन जनामात्रै रहेको परिवारमा उनी बुवा र भाइसँग बस्ने गरेका थिए । चैत्रमा आमा नातेदार समेत रहेका तेजबहादुर कार्कीको घरमा पुगेको बेला ढलेर बेहोस भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको थियो । आफ्नी आमाको मृत्युमा तेज बहादुरको परिवारको संलग्नता रहेको उनले आरोप लगाउने गरेको समेत उनी पक्राउ परेपछि खुलेको छ ।  

हत्या भएको विषयमा स्थानीयलाई समेत उनैले खबर गरेका थिए । घटना स्थल पुगेकालाई उनै लोकबहादुरले मर्नेहरूको शब देखाएका थिए ।