झापा । ग्रामीण क्षेत्रका सञ्चारकर्मीलाई संगठित गर्दै व्यावसायिक पत्रकारिताको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित ग्रामीण प्रेस क्लब झापाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नेत्र विक्रम विमलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
हल्दिबारी गाउँपालिका–२ स्थित रेडक्रस सामुदायिक भवनमा आइतबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा प्रितम कुमार धमला, महासचिवमा राजेश आचार्य, सचिवमा अभिषेक खतिवडा र कोषाध्यक्षमा शान्ता उप्रेती चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा रत्न कुमार बुढाथोकी, जनकलाल राजवंशी, बुधलाल किस्कु, श्रीप्रसाद शिवाकोटी, हेमन्त मैनाली र टिकाराम बास्तोला चयन भएका छन्। नयाँ नेतृत्व चयनका लागि रेम खरेलको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत रूपमा कार्यसमिति घोषणा गरेको हो।
अधिवेशनको उद्घाटन गर्दै कोशी प्रदेशसभा सदस्य छविलाल चुडालले ग्रामीण क्षेत्रका ओझेलमा परेका मुद्दा र नागरिकका आवाजलाई सञ्चारमाध्यममा पुर्याउन स्थानीय पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताए।
क्लबका अध्यक्ष विमलीले ग्रामीण क्षेत्रका सञ्चारकर्मीलाई संगठित गर्दै तथ्यमा आधारित, व्यावसायिक र उत्तरदायी पत्रकारिताको विकासमा जोड दिने बताए। कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले पनि ग्रामीण पत्रकारितालाई व्यवस्थित र प्रभावकारी बनाउन क्लबले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।





































