काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पार्टी नेतृत्व र सरकार सञ्चालनको शैलीलाई लिएर आन्तरिक विवाद गहिरिँदै गएको छ। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच सरकार सञ्चालन तथा पार्टी–सरकार समन्वयका विषयमा बुझाइमा अन्तर देखिन थालेपछि विवाद थप पेचिलो बन्ने संकेत देखिएको छ।
पार्टी निकट स्रोतका अनुसार, प्रधानमन्त्री शाहले पार्टीसँग पर्याप्त समन्वय नगरी आफ्नै ढंगले सरकार सञ्चालन गरिरहेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ। अर्कोतर्फ, प्रधानमन्त्री शाहले भने पार्टी नेतृत्वबाट आफूलाई घेराबन्दी गर्ने प्रयास भइरहेको ठान्ने गरेको स्रोतको दाबी छ।
पार्टी नेतृत्व र सरकारबीच देखिएको यो मतभेद आगामी मन्त्रिपरिषद् हेरफेरसँगै थप सतहमा आउन सक्ने आकलन गरिएको छ। मन्त्रिपरिषद् पुनर्गठनका क्रममा मन्त्री छनोट, नेतृत्वको भूमिका तथा सरकार सञ्चालनमा पार्टीको प्रभावजस्ता विषयले विवादलाई थप चर्काउन सक्ने देखिन्छ।
यसैबीच, रास्वपाको विधानमा सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेताको पद रिक्त हुन सक्ने प्रावधान रहेको विषयले पनि राजनीतिक वृत्तमा चर्चा पाएको छ। उक्त प्रावधानको सम्भावित प्रयोगले प्रधानमन्त्री शाहमाथि राजनीतिक दबाब बढ्न सक्ने आकलन गरिएको छ।
पार्टी सभापति र प्रधानमन्त्रीबीचको सम्बन्धमा देखिएको असमझदारीले सरकारको कार्यशैली, पार्टीको आन्तरिक एकता र आगामी राजनीतिक निर्णयमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ। यद्यपि, विवादका विषयमा दुवै पक्षको आधिकारिक धारणा सार्वजनिक रूपमा पुष्टि हुन बाँकी छ।




































