काठमाडौं / शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी प्रस्तुत गरेका थिए ।
राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञसित सल्लाह गरेपछि निर्णय लिने बताएको शीतलनिवास पुगेका एक नेताले जानकारी गराएका छन् । ति नेताले प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक निर्णय हतारमा गर्ने राष्ट्रपति भण्डारीले तत्काल निर्णय गर्न अस्विकार गरेर गैर संवैधानिक कदम चाल्न खोजेको हुन सक्ने बताएका छन् ।
ओलीको दाबी कमजोर
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूसँग एमालेका १२१ सहित १५३ सांसदको साथ रहेको बताउँदै प्रधानमन्त्रीमा पुनः दाबी गरेका छन् ।
तर, प्रधानमन्त्री ओलीको पक्षमा रहेका भनिएका जसपाका नेताहरुले भने राष्ट्रपतिले आह्वान गरेको ढाँचामा एकमुष्ट हस्ताक्षर नगरी पार्टीको लेटरप्याड पत्र मात्र शीतल निवासमा दर्ता गरेका छन् ।
प्रक्रियाको हिसाबले धारा ७६ (५) को सरकार गठनका लागि देउवाको दाबी बलियो देखिएको छ ।