काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशनको मिति र प्रक्रियालाई लिएर आन्तरिक विवाद चर्किँदै गएपछि केन्द्रीय अनुशासन समिति सक्रिय भएको छ । पार्टीभित्रको शक्ति संघर्षकै बीच समितिको बैठक आज बस्न लागेको हो ।
अनुशासन समितिको बैठक बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने तय भएको छ ।निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टी महाधिवेशनको छुट्टै कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापन पक्षले त्यसलाई गम्भीर रूपमा लिएको देखिएको छ । यही विषयमा आवश्यक छलफल तथा स्पष्टीकरणका लागि अनुशासन समिति बैठक बोलाइएको कांग्रेस स्रोतको भनाइ छ ।
महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा कांग्रेसभित्र लामो समयदेखि मतभेद रहँदै आएको छ । महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व तहबीचको असहमति थप सार्वजनिक बन्न थालेपछि पछिल्लो घटनाक्रमलाई पार्टीभित्रको शक्ति संघर्षका रूपमा हेरिएको छ ।
देउवा पक्षले छुट्टै कार्यतालिका अघि बढाउने तयारी गरेपछि पार्टीको आधिकारिक निर्णय र संस्थागत प्रक्रियाबाहिर गएर गतिविधि गर्न खोजिएको हो कि होइन भन्ने प्रश्नसमेत उठेको छ । यही विषय अनुशासन समितिको छलफलको प्रमुख विषय बन्न सक्ने बताइएको छ ।
समितिका सचिव दिनेश थापामगरले बैठकमा उपस्थित हुन सदस्यहरूलाई सूचना जारी गरिसकेका छन् । बैठकले पछिल्लो विवादबारे के निर्णय गर्छ भन्नेमा कांग्रेसभित्र चासो बढेको छ । महाधिवेशनको मिति, तयारी र नेतृत्व चयनको विषयले कांग्रेसको आन्तरिक राजनीतिमा प्रभाव पार्ने भएकाले अनुशासन समितिको निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि पनि महाधिवेशनको समय र प्रक्रियालाई लिएर कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच मतभेद देखिँदै आएको थियो । अहिले छुट्टै कार्यतालिकाको तयारीले विवादलाई थप सतहमा ल्याएको छ । अब अनुशासन समितिले देउवा पक्षको तयारीलाई कसरी लिन्छ र पार्टीभित्रको विवाद समाधानतर्फ जान्छ वा थप टकराव बढ्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ ।






































