भद्रपुर । झापाको भद्रपुरमा भारतबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको लत्ताकपडा बरामद भएको छ। तर, तस्करी गरी ल्याइएको सामान घरमै लुकाएर राखिएको अवस्थामा फेला पर्दासमेत तस्करीमा संलग्न व्यक्ति र घरधनी पक्राउ नपर्नुले सुरक्षा निकायको निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ।
भद्रपुर नगरपालिका–५ निवासी सुकदेव सहनीको निर्माणाधीन घरको कोठामा लुकाएर राखिएको अवस्थामा सशस्त्र प्रहरीले १५ पोका लत्ताकपडा बरामद गरेको हो। आइतबार बिहान छापा मार्दा ती सामान फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामानमा लेडिज लेगिज, पञ्जालगायतका कपडा रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार ती सामान गएराति भारतबाट मेची नदी हुँदै मेची पुलमुनिको बाटो प्रयोग गरेर अवैध रूपमा नेपाल भित्र्याइएको खुलेको छ।
तर, घटनाको गम्भीर पक्ष के छ भने सशस्त्र प्रहरी कार्यालय भद्रपुर, वडा प्रहरी कार्यालय भद्रपुर र भद्रपुर भन्सार कार्यालयको नजिकै रहेको घरबाटै तस्करीका सामान बरामद भएका छन्। सुरक्षा निकाय र भन्सार कार्यालयकै आसपासबाट तस्करीका सामान ओसारपसार तथा भण्डारण हुनुले सीमा क्षेत्रमा भइरहेको निगरानी कति प्रभावकारी छ भन्ने प्रश्न खडा गरेको छ।
अझ, घरधनीकै निर्माणाधीन घरमा तस्करीका सामान लुकाएर राखिएको अवस्थामा फेला पर्दासमेत घरधनी सुकदेव सहनीमाथि तत्काल कुनै कारबाही भएको विवरण सार्वजनिक भएको छैन। सामान बरामद हुने तर तस्करीमा संलग्न व्यक्ति भने पक्राउ नपर्ने अवस्थाले अनुसन्धानको विश्वसनीयतामाथि समेत प्रश्न उठाएको छ।
सशस्त्र प्रहरीले भने तस्करीमा संलग्न समूह र व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको जनाएको छ। बरामद लत्ताकपडा भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ। यद्यपि, सामानको वास्तविक परिमाण र मूल्यांकन भने सार्वजनिक गरिएको छैन।
यसैबीच, बरामद सामानको मूल्यांकन कम गराएर भन्सार बुझाउन तस्करीमा संलग्न समूहले सशस्त्र प्रहरीमाथि दबाब दिइरहेको बुझिएको छ। यदि यस्तो दबाब परेको हो भने त्यसको निष्पक्ष छानबिन आवश्यक देखिन्छ।
अब प्रश्न उठ्छ—भन्सार र प्रहरी कार्यालयकै नजिक तस्करीका सामान भण्डारण भइरहँदा निगरानी संयन्त्र कहाँ थियो ? सामान बरामद भएपछि तस्करीमा संलग्न व्यक्ति र घरधनीको भूमिकाबारे निष्पक्ष अनुसन्धान गरी कारबाही हुन्छ कि यो घटना पनि सामान बरामदमै सीमित रहन्छ ?





































