गुवाहाटी । असमको चिया उद्योग बाढीपीडितको राहतका लागि एकजुट भएको छ। चिया उद्योगसँग सम्बन्धित उत्पादक, खरिदकर्ता, दलाल तथा गोदाम सञ्चालकहरूको सहभागितामा आयोजित विशेष परोपकारी चिया लिलामीबाट करिब दुई करोड २६ लाख रुपैयाँ संकलन भएको छ।
गुवाहाटी चिया लिलामी केन्द्रमा आयोजित विशेष लिलामीबाट एक करोड ६१ लाख रुपैयाँ संकलन भएको हो। यसबाहेक व्यवसायी हेमन्त बाङ्गुरले ६५ लाख रुपैयाँ सहयोग गरेका छन्। संकलित रकम असमका मुख्यमन्त्री राहत कोषमा जम्मा गरिनेछ।
चिया एसोसिएसन अफ इन्डियाको आयोजनामा सोमबार भएको उक्त परोपकारी लिलामीमा असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा स्वयं सहभागी भएका थिए। उनले १२ वटा विशेष चिया समूहको सांकेतिक रूपमा लिलामी गराएका थिए। ती समूहबाट मात्रै ९९ लाख ५१ हजार रुपैयाँ प्राप्त भएको थियो।
लिलामीमा देशका विभिन्न शहरबाट चिया खरिदकर्ताहरू सहभागी भएका थिए। मुम्बई, सुरत, अहमदाबाद र दिल्लीबाट समेत खरिदकर्ता गुवाहाटी पुगेका थिए। प्रमुख खरिदकर्तामध्ये सोसाइटी टीले २६ लाख १० हजार रुपैयाँ, वाघ बकरीले २४ लाख ४ हजार रुपैयाँ, टुडे टीले १५ लाख १० हजार रुपैयाँ, जिभराज टीले १३ लाख रुपैयाँ र उपहारले १२ लाख २४ हजार रुपैयाँ बराबरको चिया खरिद गरेका थिए।
कार्यक्रममा मुख्यमन्त्री शर्मासँगै रूपान्तरण तथा विकास, श्रम कल्याण तथा चिया जनजाति र आदिवासी कल्याणमन्त्री रामेश्वर तेली, मुख्य सचिव रवि कोटा तथा वरिष्ठ सरकारी अधिकारीहरूको उपस्थिति थियो।
चिया उद्योगका तर्फबाट चिया एसोसिएसन अफ इन्डियाका अध्यक्ष एस. मेहता, धुनेरीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सी. के. धनुका, फेडेरेसन अफ अल इन्डिया टी ट्रेडर्स एसोसिएसनका अध्यक्ष पारस देसाईलगायत वरिष्ठ चिया उत्पादक तथा खरिदकर्ताहरू सहभागी थिए।
चिया एसोसिएसन अफ इन्डियाका वरिष्ठ उपाध्यक्ष मोहित अग्रवालले राहत अभियानमा चिया व्यापार क्षेत्रबाट अत्यन्त उत्साहजनक सहभागिता भएको बताए। विशेषगरी असमबाहिरबाट समेत खरिदकर्ता राहत अभियानलाई सहयोग गर्न गुवाहाटी आएको उनले उल्लेख गरे।
राहत रकम संकलनका लागि चिया उद्योगको सम्पूर्ण लिलामी शृंखलाले योगदान गरेको थियो। चिया उत्पादकहरूले राहतका लागि चिया उपलब्ध गराएका थिए भने दलालहरूले दलाली शुल्क नलिने निर्णय गरेका थिए। सहभागी गोदामहरूले पनि भण्डारण शुल्क छुट दिएका थिए। गुवाहाटी चिया लिलामी केन्द्रले विशेष लिलामी सञ्चालन गर्न सहजीकरण गरेको थियो।
असममा बाढीका कारण ठूलो जनधन प्रभावित भइरहेका बेला चिया उद्योगले आफ्नो लिलामी प्रणालीलाई राहत सहयोग जुटाउने माध्यमका रूपमा प्रयोग गरेको हो। यसबाट संकलित रकम बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा उपयोग गरिने बताइएको छ।




































