इटहरी / सरकारले सुनसरीको राजावास क्षेत्रमा कोशी नदीको वैकल्पिक पुल निर्माणको तयारी सुरु गरेको छ । आयु सकिएको हाल प्रयोगमा रहेको कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल निर्माणको तयारी भएको सडक विभागले जनाएको छ ।

सडक विभागले सुनसरीको पकली हुँदै कोशी टप्पु वन्यजन्तु आरक्ष भन्दा माथिल्लो भागबाट आरक्षलाई समेत असर नपर्ने गरी वैकल्पिक सडक र पुल निर्माण गर्न तयारी थालेको हो । सन् १९६२ मा भारतीय कम्पनी ‘जोसेफ एन्ड कम्पनी लिमिटेड’ ले बनाएको पुलको आयु ५० वर्ष मात्रै रहेको भएपनि हालसम्म सोही पुल प्रयोग भइरहेको छ ।

सडक विभागले पूर्व पश्चिम राजमार्गको विकल्पका रुपमा पुल सहित चार लेन सडक बनाउन तयारी थालेको हो । सडक विभागले पुल र सडक निर्माणका लागि कोरियन परामर्शदाता केईसीसी र नेपाली परामर्शदाता स्वाइल टेष्टलाई डीपीआर बनाउने जिम्मेवारी दिएको थियो । डीपीआर बनाउने जिम्मा पाएको संयुक्त कम्पनीले ४४.२ किलोमिटर लामो सडक बनाउन विभागलाई सुझाव दिएको छ ।

डीपीआर प्रतिवेदनमा सुनसरीको पकली हुँदै राजावास , भागलपुर , मानजोरा , बुद्धनगर , रामपुर , कालिन्चोक हुँदै कञ्चनपुर सम्म पुग्ने गरी सडक बनाउन विभागलाई सुझाव दिइएको छ । वैकल्पिक सडकमा पर्ने कोशी नदीमा २८ सय ६० मिटर लामो पुल सहित ३४ वटा पुल निर्माण गर्नु पर्ने छ । कोशी पुल निर्माणका लागि २१ अर्ब ७४ करोड रुपैयाँ र सडकका लागि २० अर्ब ६३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

हालको कोशी ब्यारेज पुल र वन्यजन्तु क्षेत्र आसपासबाट पुल निर्माण गर्दा लामो र खर्च पनि ठुलो हुने भएकाले आरक्ष समेत जोगाउने गरी राजाबास क्षेत्रबाट बनाउने तयारी गरिएको सडक विभागले जनाएको छ । सडक नै परवर्तन गर्दा ब्यारेज पनि मर्मत संहार गरेर चलाउन सकिने भएकाले माथिल्लो क्षेत्रबाट सडक निर्माण गर्न खोजिएको विभागको भनाई छ ।

नयाँ सडकका लागि सडकको रेखांकन समेत परिवर्तन गर्नु पर्ने भएकाले मन्त्रालयमा ०७५ सालमा नै सो सम्बन्धी प्रस्ताव लगिएको भएपनि मन्त्रालयले मन्त्रिपरिषद्‌मा नलगिदिँदा काम अघि बढाउन ढिलाई भएको विभागका उपनिर्देशक राकेश महर्जनले बताएका छन् । उनले वैकल्पिक सडक र कोशी नदीको पुल पनि एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा बनाउनका लागि छलफल थालिएको जानकारी गराएका छन् ।