काठमाडौं— नेपाली रंगमञ्चको संस्थागत विकास तथा नाट्यकर्मीको पेशागत अधिकार सुनिश्चित गर्न माग गर्दै नाट्यकर्मी महासंघ नेपालले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ज्ञापनपत्र बुझाएको छ।
महासंघका अध्यक्ष राजेन्द्र रिमाल नेतृत्वको टोलीले प्रतिष्ठानका कुलपति ब्रजेश खनाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो। महासंघले प्रतिष्ठान र नाट्यकर्मीबीचको सम्बन्धलाई व्यक्तिगत नभई संस्थागत आधारमा अघि बढाउनुपर्नेमा जोड दिएको छ।
ज्ञापनपत्रमा रंगमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा सम्बन्धित पेशागत संघ–संस्थासँग परामर्श गर्नुपर्ने माग गरिएको छ। प्रशिक्षण, अनुसन्धान, अभिलेखीकरण, महोत्सव तथा अन्य रंगमञ्चीय गतिविधिमा प्रतिष्ठान र महासंघबीच संयुक्त सहकार्यको व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ।
त्यस्तै, काठमाडौंबाहिर हुने रंगमञ्चीय गतिविधिलाई प्राथमिकता दिँदै मोफसलका कलाकार तथा नाट्य संस्थालाई समान अवसर र प्रोत्साहन उपलब्ध गराउनुपर्ने माग महासंघको छ।
नाट्यकर्मी तथा कलाकारको पेशागत मर्यादा, श्रमको सम्मान, क्षमता विकास र पेशागत हितका विषयमा प्रतिष्ठानसँग सहकार्य गर्नुपर्ने महासंघले जनाएको छ। नेपाली रंगमञ्चको इतिहास, नाटक, कलाकार, प्राविधिक तथा सिर्जनात्मक योगदानको अभिलेखीकरण र अनुसन्धानमा समेत सहकार्य गर्न प्रस्ताव गरिएको छ।
महासंघले प्रतिष्ठानसँग भविष्यमा उत्पन्न हुन सक्ने असहमति वा मतभेदलाई सार्वजनिक विवादको विषय नबनाई संवाद र संस्थागत प्रक्रियामार्फत समाधान गर्नुपर्ने धारणा अघि सारेको छ। आफूहरू प्रतिष्ठानको प्रतिस्पर्धी वा विकल्प नभई नेपाली रंगमञ्चमा सक्रिय पेशागत समुदायको साझा संस्था भएको महासंघले स्पष्ट पारेको छ।
ज्ञापनपत्र बुझ्दै कुलपति ब्रजेश खनालले महासंघले उठाएका विषयप्रति सकारात्मक रहेको बताए। उनले माग सम्बोधनका लागि आवश्यक पहल तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिष्ठान र रंगमञ्चमा सक्रिय पेशागत संस्थाबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको धारणा राखे।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख विजय विस्फोट र नाटक विभाग प्रमुख सरस्वती चौधरीको पनि सहभागिता थियो।
महासंघका तर्फबाट अध्यक्ष रिमालसँगै उपाध्यक्ष सिर्जना अधिकारी, उपाध्यक्ष राम केसी, महासचिव जेबी डिसी, सचिव अशोक सिवाकोटी र सहकोषाध्यक्ष प्रभन भुषाललगायत सहभागी थिए।
महासंघले प्रतिष्ठानसँगको सम्बन्धलाई व्यक्तिगत सम्बन्धभन्दा संस्थागत सम्बन्ध, आग्रहभन्दा नीति र प्रतिस्पर्धाभन्दा सहकार्यमा आधारित बनाउँदै नेपाली रंगमञ्चको विकासमा अघि बढ्ने जनाएको छ।






































