सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज–साहेबगञ्जमा रातिको समयमा शंकास्पद रूपमा मालसामान ओसारपसार भइरहेको देखिने भिडियो सार्वजनिक भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।
स्थानीय स्रोतबाट प्राप्त भनिएको भिडियोमा राति करिब १ बजेको समयमा इलाका प्रहरी कार्यालय साहेबगञ्जको गेटनजिकैबाट मालसामान ओसारपसार भइरहेको देखिन्छ। 
स्थानीयस्तरमा भने उक्त गतिविधि तस्करीसँग सम्बन्धित रहेको भनिएको छ। सीमावर्ती क्षेत्रमा रातिको समयमा हुने यस्ता गतिविधिले सुरक्षा चुनौती र निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ। उनीहरूले सीमा क्षेत्रमा हुने आवतजावत तथा मालसामान ओसारपसारमा थप निगरानी बढाउन सुरक्षा निकायसँग माग गरेका छन्।
विशेषगरी प्रहरी कार्यालयकै गेटअगाडि नै यस्तो गतिविधि भएको देखिने भिडियो सार्वजनिक हुनु थप चासोको विषय बनेको छ।
अब प्रश्न उठेको छ—
यदि भिडियोमा देखिएको गतिविधि तस्करीसँग सम्बन्धित होइन भने त्यो के थियो? र यदि शंकास्पद गतिविधि थियो भने प्रहरी कार्यालयको गेटअगाडिसम्म कसरी पुग्यो? यस विषयमा इलाका प्रहरी कार्यालय साहेबगञ्ज तथा सम्बन्धित सुरक्षा निकायको आधिकारिक धारणा आउन बाँकी छ।






































