खाँदबारी / प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका –१ उम्लिङमा एकै परिवारका ६ जनाको बीभत्स हत्याको विषयमा सोमबार बेलुकाबाटै अनुसन्धान थालेको छ ।

OM Sai Pathibhara Hospital

अनुसन्धानका लागि प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको प्रहरी टोली  ‘ट्र्याकर’डग  ‘पिकु र लैला’ अनि फरेन्सिक विज्ञ सहित पुगेपछि प्रहरीले घटनाका विषयमा अनुसन्धान थालेको हो । सोमबार बेलुका देखिको निरन्तरको वर्षाका कारण अनुसन्धानमा असर देखिएपनि प्रहरीले अनुसन्धान भने जारी नै रहेको जनाएको छ ।  

घटनास्थल पुगेको दाहाल नेतृत्वको अनुसन्धान टोलीले अनुसन्धानमा धरानबाट लगिएका ‘ट्र्याकर’डग पिकु र लैलालाई समेत प्रयोग गरेको छ। वर्षाका कारण अनुसन्धानमा प्रयोग गरिएका कुकुरको अनुसन्धान प्रभावकारी हुन नसक्ने भएकाले प्रहरीले अनुसन्धानका लागि अन्य सबै विकल्पमा काम गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


अनुसन्धानमा यतिबेला दाहाल नेतृत्वको विज्ञ टोली सहित जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा नेतृत्वको टोली पनि अनुसन्धानमा जुटेको छ ।

घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालयले रिजनल इन्भेस्टिकेसन टिम (रिट)  र  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि घटनास्थलतर्फ  पठाइएको जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले अनुसन्धान सकारात्मक दिशा तर्फ बढेको बताएका छन् । उनले जघन्य अपराधको घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले कुनै कसर बाँकी नराख्ने उनले स्पष्ट पारेका छन् ।

प्रहरीले आर्थिक पाटोका कारण हत्या भएको हुनसक्ने अनुमान गरेको छ। तेजबहादुरका दुई छोरा जेठो रमेश र कान्छो नरेश वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका अनि उनीहरूले पठाएको पैसाकै कारण हत्या भएको अनुमान गरिएको छ । कार्की परिवारले झापामा ८० लाखमा जग्गा किन्नलाई घरमा पैसा राखेको हुनसक्ने भएकाले पैसा लुट्नकै लागि हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

याे पनि –सङ्खुवासभा हत्याकाण्ड : कान्छा छोराको परिवारका चारै जना बाँच्न सफल

मृतक सबैको शव उठाउन प्रकृया सुरु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी गराएको छ । प्रकृया पुरा भएपछि शवलाई पोष्ट मार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भएको मंगलबार साँझ सम्ममा शव धरान आउने बताईएको छ ।

याे पनि –सङ्खुवासभा हत्याकाण्ड : एकै परिवारका छ जनाको विभत्स हत्या

आइतबार राती मादी  –१ उम्लिङका ८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा भएको विभत्स घटनामा उनी बाहेक घरमा रहेका सबैको हत्या भएको थियो । आँखा र कानमा समस्याका कारण नदेख्ने र कम सुन्ने भएकाले उनलाई जिवित छाडेर बाँकीको हत्या गरिएको अनुमान गरिदैं आएको छ । छोरा नरेशकी श्रीमती मुना र उनका दुई बच्चा झापामा रहेकाले बाँच्न सफल भएका छन् ।

याे पनि –एकै परिवारका ६ को हत्या

बौदमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको घर अनि घर नजिकको क्षेत्रमा शव भेटिएको थियो ।