सङ्खुवासभा/ सङ्खुवासभाको मादी १ उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स तवरले भएको हत्याको अनुसन्धानका लागि फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।

घटना भएको सूचना पाए लगत्तै प्रदेश प्रहरी कार्यालय विराटनगरले संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुर र विज्ञ सहितको टोली घटनास्थल पठाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले एसपी दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुर र विज्ञ सहितको टोली घटनास्थलतर्फ गएको जानकारी गराएका छन् । उपरीक्षक राईले घटनामा संलग्नलाई फरार हुन नदिन घटनास्थलबाट बाहिरिने सबै नाकामा निगरानी बढाइएको समेत जानकारी गराएका छन् ।

आइतबार राती मादी १ उम्लिङमा एकै परिवारका ६ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । घटनास्थलमा पुगेका प्रहरीले परिवारका केही सदस्यको घर भित्र र केहीको शव घर बाहिर फेला पारेका थिए । ७ सदस्यीय परिवारका एक जना भने जिवीतै भेटिएका छन् । आँखा नदेख्ने र कान नसुन्ने वृद्ध सदस्य भने जिवीतै रहेको प्रहरीले समेत पुष्टि गरेको छ ।

घटनास्थलमा प्रहरीले एउटै परिवारका ५७ वर्षीय तेजबहादुर कार्की , उनकी ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीलाई प्रहरीले मृत अवस्थामा फेला पारेको छ ।

घटना भएको  स्थान गाउँको एकान्तमा रहेकाले राती नै घटना भएको अनुमान गरिएको छ । स्थानीयले बिहान कार्की परिवारका सदस्य मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा यतिबेला इलाका प्रहरी कार्यालय खाँदबारी , प्रहरी चौकी मादी र जिल्ला प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ ।