बिर्तामोड / सङ्खुवासभाको मादी १ उम्लिङमा एकै परिवारका छ जनाको विभत्स हत्याको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले मृतक परिवारका नातामा भतिजा पर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

हत्याको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले पक्राउ परेका कार्की नै संलग्न रहेको निष्कर्ष समेत निकालेको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी गराएका छन् ।


घटना स्थलबाट करिव डेढ सय मिटरको दूरीमा पक्राउ परेका कार्कीको घर रहेको छ। पक्राउ परेका कार्की केही समय अघि वैदेशिक रोजगारीबाट फर्किएका हुन् । प्रहरीले पक्राउ परेका व्यक्ति र अनुसन्धानका विषयमा पत्रकार सम्मेलन गरेर पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।


गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको विभत्स तवरले हत्या भएको थियो । मृतक ६ जनाकै शव छुट्टाछुट्टै स्थानमा फेला परको थियो।


अनुसन्धानमा खटिएका प्रहरीले पारिवारिक दुश्मनीका कारण हत्या भएको निष्कर्ष निकालेको छ ।

घरमा रहेको नगद र गरगहना जस्ताको तस्तै रहेकाले पारिवारिक दुश्मनीका कारण हत्या भएको निष्कर्ष निकालेको प्रहरीले घटना बिहान भएको र तेज बहादुरको हत्या लुकाउने क्रममा अन्यको समेत हत्या गरेको ठहर प्रहरीले गरेको छ ।


घटना स्थलमा अनुसन्धानमा खटिएका प्रहरीलाई सहयोग गर्न पुगेका प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी अरुण कुमार बिसीले पनि एक जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनले हत्याराको नजिक प्रहरी पुगेको र अनुसन्धान पुरा भएपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको जानकारी गराएका छन् ।


अनुसन्धानमा खटिएका संघीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालले अनुसन्धान पुरा हुने चरणमा रहेको बताएका छन् । उनले पत्रकार सम्मेलन गरी आइतबार पक्राउ परेका अभियुक्त र घटना विवरण सार्वजनिक गर्ने तयारी भएको बताएका छन् ।

यस्तो छ हत्याको कारण

हत्याको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले अनुसन्धानका क्रममा छिमेकी एक युवाले लगाएको कपडामा रगतका टाटा देखिएपछि प्रहरीलाई हत्यामा संलग्न सम्म पुग्न सहज भएको हो ।

पक्राउ परेका कार्कीका भाइले लगाएको कपडामा रगतका टाटा देखिएपछि प्रहरी कार्कीलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका कार्कीले हत्या गर्न प्रयोग गरेको घरेलु हतियार समेत बरामद गरेको छ ।

नातामा भतिजो पर्ने कार्कीले आफ्नी आमाको मृत्यु तेज बहादुरको परिवारका कारण भएकाले तेज बहादुरको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । उनले बयानका क्रममा केही वर्ष अघि तेज बहादुरको घरमा गएका बेला लडेकी आफ्नी आमाको मृत्युमा तेज बहादुरको हात रहेकाले उनलाई मारेको बताएका छन् ।

आमाको मृत्यु र आफूलाई हेप्ने अनि अपमानित हुने गरी बोल्ने र व्यवहार गर्ने गरेकाले तेज बहादुरको हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले पक्राउ परेका कार्कीमा मानसिक समस्या रहेको र उनले एक वर्ष देखि औषधि समेत सेवन गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको बताएका छन् ।