खाँदवारी / सङ्खुवासभाको मादी १ खोला गाउँमा भएको हृदयविदारक हत्याकाण्डमा सलग्नले एक जनाको मात्रै हत्या गर्न खोज्दा अन्यले थाहा पाएपछि छ जनाको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
अपराधमा संलग्नले एक जनाको मात्रै हत्या गर्न खोजेको तर परिवारका अन्य सदस्यले थाहा पाएपछि अपराध लुकाउन उनीहरूको समेत हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले निष्कर्ष निकालेका छन् ।
घटना सार्वजनिक भएपछि घटनास्थलमा पुगेका प्रहरीले पैसा र अन्य धनमाल लुटपाटको उद्देश्यले हत्या गरेको अनुमान गरिएपछि घरमा चेकजाँचका क्रममा नगद र गरगहना फेला परेपछि हत्याका विषयमा प्रहरीले फरक निष्कर्ष निकालेको हो ।
चेकजाँचका क्रममा प्रहरीले घरमा नै राखिएको ८ लाख रुपैयाँ नगद र गरगहना फेला पारेपछि हत्याको कारण रिसइबी या अन्य कुनै कारण भएको अनि नजिकका मान्छे बाटै हत्या भएको निष्कर्ष निकालेको हो ।
अनुसन्धानमा संलग्न प्रहरीले ५२ वर्षीय तेज बहादुर कार्की या परिवारका अन्य कुनै सदस्यका कारणले पैदा भएको दुस्मनीका कारण घटना भएको निष्कर्ष निकालेका हुन् । एक जनाको मात्रै हत्या गर्ने उद्देश्य रहेको तर अपराध खुल्ने अवस्था बनेपछि अन्यको समेत हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
मारिएका मध्ये तेज बहादुरको शब घरबाट सबैभन्दा टाढाको दूरीमा भेटिएकाले उनको हत्या गर्ने क्रममा अपराध लुकाउन खोज्दा अन्यको पनि हत्या भएको प्रहरीले अनुमान गरेको हो । उनको शब घर भन्दा करिब २५० मिटर टाढा रहेको खोल्सीमा भेटिएको थियो ।
घरदेखि १५० मिटरको दूरीमा तेजबहादुरकी श्रीमती कमला कार्की र बुहारी ३२ वर्षीय रञ्जना कार्कीको शव भेटिएको थियो भने घर नजिकको क्षेत्रमा ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको शव भेटिएको थियो । तेजबहादुरकी ८४ वर्षीय आमा पार्वती कार्कीको भने घरमै कुँडो पकाउने स्थानमा शब भेटिएको थियो ।
शब भेटिएको स्थानका आधारमा प्रहरीले तेज बहादुरको हत्या लुकाउने क्रममा अपराधमा संलग्नले अन्यको पनि हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको हो ।
अनुसन्धानमा खटिएका प्रहरीले तेज बहादुरको परिवारले बारीमा काम गर्न घटना भएको दिन बिहान कामदार बोलाएकाले बिहानै काम गर्न निस्कने क्रममा घटना भएको अनुमान गरेका छन् । तेजबहादुरको खुट्टामा बुट जुत्ता समेत भेटिएको अनि घर भन्दा टाढाको दूरीमा उनको शव पाइएकाले सबैभन्दा पहिला उनको नै हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो ।
तेज बहादुरको हत्या गर्ने क्रममा उनलाई बचाउने कोसिसमा निस्किएका परिवारका अन्य सदस्यको पनि हत्या भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले अनुमान गरेका छन् ।
हत्यारालाई चिन्ने भएकै कारणले केटाकेटीको समेत हत्या गरिएको अनि आखा नदेख्ने र कान समेत नसुन्ने भएकाले वृद्ध बौद्धमानलाई जिवीत छाडिएको प्रहरीले निष्कर्ष निकालेको छ ।
केटाकेटी समेतले चिन्ने हत्यारा रहेका कारण हत्यामा संलग्न नजिककै भएको प्रहरीले निष्कर्ष निकाल्दै तेज बहादुरसँगको सम्बन्ध र अन्य पाटा केलाउन प्रहरीले थालेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी गराएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले घटना बिहान करिव पाँच बजे वरिपरि भएको समेत निष्कर्ष निकालेका छन् ।
यतिबेला घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान त्यूरी सीआईबी , प्रदेश नम्बर १ को प्रदेश प्रहरी कार्यालयका प्रहरी र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली घटनास्थलमा खटिएको छ ।






































