दाङ / साथीको जन्मदिन मनाउन गएका घोराहीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –१७ गुलरियाका २१ वर्षीय गणेश पौडेल रहेका छन् ।
पौडेल हिजो (बिहिबार) साथी नवीन गिरीको निमन्त्रणामा जन्मोत्सव मनाउन घोराही १५ स्थित फ्रेन्ड एन्ड फेमिली होटल गएका थिए ।
टाउकोमा चोटपटक लागेर उनी होटलमा अचेत अवस्थामा फेला परेका थिए । पौडेलको उपचारका क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको हो ।
युवकको मृत्यु पछि दाङ प्रहरीले होटल सञ्चालकसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका युवाहरूले मदिरा सेवन पछि पौडेल छतबाट खसेर अचेत भएको बयान दिएको जिल्ला प्रहरी कार्यालय दागंका प्रमुख सुरेशप्रसाद काफ्लेले बताए।
जन्मदिन मनाउन दिउसो पुगेको बेला सो घटना हुँदा पनि होटल सञ्चालकले प्रहरीलाई थाहा नदिएपछि प्रहरीले होटेल सञ्चालकलाई पक्राउ गरेको उनले बताए।
मृत्यु शङ्कास्पद लागेकोले पौडेलका घर परिवारले हत्या भएको आशङ्कामा प्रहरीमा जाहेरी दिएपछि उनका साथीलाई पक्राउ गरेको एसपी काफ्लेले जानकारी दिए।