काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको तयारीसँगै फेरि कानुनी विवाद चर्किएको छ। देउवा पक्षले सर्वोच्च अदालतमा पार्टीको वैधानिकता र नेतृत्वसम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै सभापति गगन थापाको नेतृत्वमा अघि बढिरहेका सांगठनिक गतिविधिमाथि तत्काल रोक लगाउन माग गरेको छ।


राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापासहित कांग्रेसका सबै तहका कार्यसमिति र निर्वाचन आयोगलाई पत्र पठाउँदै १५औँ महाधिवेशन तथा विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि स्थगित गर्न आग्रह गरेका छन्।


सर्वोच्च अदालतले पुनरावलोकन निवेदनमा ‘निस्सा’ जारी गरेको विषयलाई आधार बनाउँदै कोइरालाले अदालतको अन्तिम फैसला नआएसम्म कांग्रेसले कुनै पनि दूरगामी राजनीतिक, सांगठनिक, नीतिगत वा आर्थिक निर्णय गर्न नहुने बताएका छन्।


उनले वर्तमान पार्टी संरचनालाई समेत यथास्थितिमा राख्न माग गरेका छन्। अदालतमा विचाराधीन विवादको अन्तिम परिणामलाई असर पार्ने गरी गतिविधि अघि बढाए त्यसबाट उत्पन्न हुने कानुनी परिणामको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने उनको चेतावनी छ।


यससँगै कांग्रेसको आन्तरिक विवाद महाधिवेशनको मिति र नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएर पार्टीको वैधानिकता र वर्तमान संरचनाको अस्तित्वमाथिको प्रश्नसम्म पुगेको छ। गगन नेतृत्वले सांगठनिक गतिविधि अघि बढाउने तयारी गरिरहेका बेला शशांकको पत्रले त्यसमा राजनीतिकसँगै कानुनी अवरोधसमेत खडा गरेको छ।