काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जनताबाट टाढिँदै गएको आरोप लगाउँदै प्रधानमन्त्री र मन्त्रीहरूलाई एसी भएको कोठाबाट बाहिर निस्केर वास्तविक अवस्था बुझ्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा सुरक्षा, न्याय, रोजगारी र नागरिकका आधारभूत सेवाको अवस्था कमजोर बन्दै गएको दाबी गरे ।

साम्पाङले नेपालमा नागरिक मात्रै होइन, सांसदसमेत सुरक्षित नरहेको टिप्पणी गर्दै राज्यको पहिलो जिम्मेवारी नागरिकको सुरक्षा सुनिश्चित गर्नु भएको बताए । देशमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना बढिरहेको उल्लेख गर्दै उनले सरकार कमजोर हुँदा यस्ता गतिविधिले प्रश्रय पाउने चेतावनी दिए ।

उनले विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाहमाथि पदीय र नैतिक जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाए । संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई लामो समयदेखि आग्रह गरिए पनि उनी संसद्मा उपस्थित भएर जवाफ दिन तयार नभएको साम्पाङको भनाइ थियो ।

‘प्रधानमन्त्री र मन्त्रीहरू एसी भएको कोठामा बसेर देशको वास्तविक अवस्था बुझ्न सक्दैनन्’ भन्दै उनले सरकारलाई जनताबीच पुगेर समस्या बुझ्न आग्रह गरे । आन्दोलनरत नागरिकलाई सरकारले प्रत्यक्ष भेटेर उनीहरूका गुनासा सुन्नुपर्ने उनको माग थियो ।

साम्पाङले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै ‘दुई तिहाइनजिकको सरकारलाई काम गर्न केले रोकेको छ?’ भन्दै संसद्बाटै जवाफ मागे । सामाजिक सञ्जालमा आउने विवरण र स्टाटसका आधारमा मात्रै देश सञ्चालन गर्न खोज्नु अपरिपक्व शैली भएको उनको टिप्पणी थियो ।

देशको अवस्था बुझ्न काठमाडौंको सीमित घेराभन्दा बाहिर निस्कनुपर्ने बताउँदै उनले तराई–मधेसमा अझै पनि नागरिकले असुरक्षित महसुस गरिरहेको दाबी गरे । नागरिकको सुरक्षा, न्याय र रोजगारी सुनिश्चित नगरेसम्म राज्यप्रति जनविश्वास बलियो हुन नसक्ने उनको भनाइ थियो ।

न्याय प्रणालीमाथि समेत प्रश्न उठाउँदै साम्पाङले आन्दोलनरत नागरिकका समस्या प्रत्यक्ष सुन्ने र समाधान गर्ने जिम्मेवारी सरकारकै भएको बताए । उनका अनुसार जनताको असन्तुष्टि बढ्दै जाने तर सरकार त्यसलाई सम्बोधन गर्न नसक्ने हो भने राज्यप्रतिको भरोसा झन् कमजोर हुँदै जानेछ ।

साम्पाङको यो अभिव्यक्तिले प्रतिनिधि सभामा सरकारको कार्यशैली, नागरिक सुरक्षा र प्रधानमन्त्रीको जवाफदेहितामाथि फेरि बहस चर्काएको छ । उनले सरकारलाई कागजी विवरण र वातानुकूलित कार्यालयभन्दा बाहिर निस्केर जनताको वास्तविक अवस्था बुझ्न स्पष्ट सन्देश दिएका छन् ।