काठमाडौं / नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाहीमाथि प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले नेपालको भूमि भारतले मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसबारे सदनमा स्पष्ट पार्नुपर्ने माग गरे ।स्वारले लिम्पियाधुरा, कालापानी र सुस्तालगायत नेपाली भूभाग भारतले मिचेको विषयमा सरकार मौन बसेको आरोप लगाए । उनले सरकारले चुच्चे नक्सालाई बेवास्ता गरेको भन्दै प्रश्नसमेत गरे ।

भ्रष्टाचार छानबिनका लागि सबैको सम्पत्ति जाँच गर्नुपर्ने माग गर्दै उनले दोषी जोसुकै भए पनि न्यायालयको कठघरामा उभ्याउनुपर्ने बताए । विभिन्न समयमा गठन भएका छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्न पनि उनले सरकारसँग माग गरे । स्वाँरले सरकारले जनतालाई आधारभूत सेवा दिन नसकेको आरोपसमेत लगाए । राहदानी, सवारी चालक अनुमतिपत्र, मालपोत, ग्यास, महँगी तथा स्वास्थ्य बिमालगायतका विषयमा सर्वसाधारणले समस्या भोगिरहेको उनले बताए ।

उनले प्रधानमन्त्रीसँग भेटका लागि आफूले चैत २१ गते लिखित निवेदन दिएको भए पनि अहिलेसम्म भेट्ने अवसर नपाएको बताए । उनले भने, ‘मैले भेट्ने टाइम माग्दा चैत २१ गतेबाट लिखित निवेदन उहाँका स्वकीयको हातमा थमाएको थिएँ । तर आजसम्म पनि भेट्ने मौका पाइँन । तपाईं कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू रु यो समग्र सुदूरका जनता र अछामका जनतालाई माथि गरेको अपमान हो ।’

स्वाँरले सुदूरपश्चिमका जनताको विकास निर्माणका समस्या राख्न आफूले प्रधानमन्त्रीसँग भेट्न खोजे पनि समय नदिइएको गुनासो गरे । उनले भने, ‘समग्र सुदूरका जनताका लागि विकास निर्माणका समस्या मैले राख्न खोजेको थिएँ, समय दिनुभएन। यो सुदूरका जनतालाई देखावटी माया तपाईंको चाहिँदैन। त्यो माया फिर्ता लिनुहोस् ।’ स्वाँरले सरकारले गरेको काम र प्रतिबद्धताबीच ठूलो अन्तर रहेको भन्दै आलोचना गरे ।

लामो समयदेखि सामाजिक तथा सार्वजनिक क्षेत्रमा काम गरेको आफ्नो अनुभव रहेको उल्लेख गर्दै उनले सरकारको काम ‘खोदा पहाड निक्ला चुहा’ जस्तै भएको टिप्पणी गरे ।