काठमाडौं । नेपाल प्रहरीमा इन्स्पेक्टरबाट डीएसपीमा हुने बढुवा एक वर्षदेखि रोकिँदा अधिकृतहरूको वृत्ति विकास प्रभावित भएको छ । रिक्त डीएसपी पदको तुलनामा बढुवाका लागि योग्य इन्स्पेक्टरको संख्या अत्यधिक भएपछि बढुवा प्रक्रिया पेचिलो बनेको हो ।
हाल नेपाल प्रहरीमा २६ डीएसपी पद रिक्त छन् । तर ती पदका लागि १२८ इन्स्पेक्टर बढुवाका लागि योग्य छन् । उपलब्ध पदभन्दा करिब पाँच गुणा बढी प्रतिस्पर्धी भएपछि प्रहरी प्रधान कार्यालयलाई बढुवा प्रक्रिया अघि बढाउन सकस परेको छ ।
बढुवाका लागि योग्य १२८ जनामध्ये २०७२ सालमा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर भएका १२४ जना छन् । उनीहरूसँगै पुरानो ब्याचका चार जना पनि प्रतिस्पर्धामा छन् । २०५४ सालमा असईमा भर्ना भएर इन्स्पेक्टर भएका प्रवीण जोशी (ज्ञवाली), गौतम बोहोरा र धर्मराज मुडबरी तथा २०६४ सालमा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टरमा प्रवेश गरे पनि बढुवामा छुट्दै आएका चन्द्रबहादुर थापा पुरानो ब्याचबाट प्रतिस्पर्धी हुन् ।
योग्य उम्मेदवारको तुलनामा रिक्त दरबन्दी निकै कम भएकै कारण यो बढुवा एक वर्षदेखि रोकिएको हो । तत्काल बढुवा निकाल्दा ठूलो संख्यामा योग्य उम्मेदवारमध्ये थोरैले मात्र अवसर पाउने भएकाले प्रहरी प्रधान कार्यालयले माथिल्लो तहमा हुने अवकाशपछि थप पद सिर्जना हुने समयलाई पर्खिरहेको स्रोतको भनाइ छ ।
आउँदो पुस पहिलो साता माथिल्लो तहका अधिकृतहरू अवकाशमा जाँदा केही डीएसपी एसपीमा बढुवा हुनेछन् । त्यसपछि डीएसपीका थप पद रिक्त हुने र अहिलेको २६ संख्या बढेर करिब ४० पुग्ने अनुमान गरिएको छ । त्यसपछि मात्रै इन्स्पेक्टरबाट डीएसपी बढुवा निकाल्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ ।
२०५३÷०९÷०५ को भर्ना मिति भएका उच्च अधिकृतहरू पुस ५ गते अवकाश हुँदैछन् । त्यसमा एआईजीहरू सिद्धीविक्रम शाह, सुशीलसिंह राठौर, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक र उमाप्रसाद चतुर्वेदी छन् । डीआईजीहरू ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, माधवप्रसाद श्रेष्ठ र दिलीपसिंह देउवा पनि सोही मितिमा अवकाश हुनेछन् । अर्का डीआईजी विनोद घिमिरे भने उमेरहदका कारण केही दिनअघि नै अवकाश हुनेछन् ।
यसैबीच एसएसपी शारदाप्रसाद चौधरी ५५ वर्षे उमेरहदका कारण भदौ ९ गते अवकाश हुँदैछन् । माथिल्लो दर्जाका अधिकृतहरू अवकाशमा गएपछि मात्र बढुवाको लहर तल्लो तहसम्म पुग्ने भएकाले अहिले इन्स्पेक्टर तहमा बढुवा पर्खिरहेका अधिकृतको करिअर प्रभावित भएको गुनासो छ ।
सामान्यतया एक दर्जामा भर्ना भएको कर्मचारीले १० वर्षभित्र अर्को दर्जामा बढुवा पाउनुपर्ने व्यवस्था भए पनि २०७२ सालका इन्स्पेक्टरले डीएसपी बन्न १२ देखि १५ वर्षसम्म पर्खिनुपर्ने अवस्था बनेको उनीहरूको गुनासो छ । बढुवा लामो समयसम्म रोकिँदा उनीहरू उमेरहदका कारण डीएसपी, एसपी वा एसएसपी तहमा पुग्न नपाउँदै अवकाशमा जानुपर्ने जोखिमसमेत बढेको छ ।
माथिल्लो तहको अवकाश पर्खिनुपर्ने र त्यसपछि बढुवाको लहर तल्लो दर्जासम्म पुग्न समय लाग्ने अवस्थाले प्रहरीभित्रको वृत्ति विकास प्रणालीमै प्रश्न उठेको छ । अहिलेको २६ डीएसपी पदका लागि १२८ इन्स्पेक्टरबीच प्रतिस्पर्धा भए पनि पुसपछि रिक्त पद बढ्ने भएकाले बढुवा प्रक्रिया केही सहज हुने प्रहरी प्रधान कार्यालयको अपेक्षा छ । तर लामो समयदेखि बढुवा कुरिरहेका अधिकृतहरूको करिअरमा परेको असर भने तत्कालै हट्ने देखिँदैन ।






































