नारायणगढ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर नारायणी नदी किनारमा पुर्याएको छ । बाढीले बगाएर ल्याएका मृत पशु नारायणी नदी किनारमा छरपस्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो ।
महानगरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कृष्णहरि ढकालका अनुसार भदौ १५ गतेदेखि नारायणी नदीमा भेटिएका मृत पशुको व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरिएको हो । दैनिक जेसिबी र ट्याक्टरसहित महानगर प्रहरीको टोली यो कार्यमा खटिँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै मात्रामा भैँसी र गाई भेटिएका छन् । त्यसका साथै सुँगुर र बङ्गुुर पनि भेटिएका छन् । नदी किनारका बस्तीमा दुर्गन्ध फैलिन थालेकाले व्यवस्थापन गर्न आवश्यक देखेपछि काम थालेका हौँ ।”
प्रहरी नायब उपरीक्षक ढकालका अनुसार भरतपुर महानगरपालिका-१ देवघाट (ठिमुरा) बाट गोलाघाटसम्म बस्ती नजिक भेटिएका मृत पशुलाई बस्तीभन्दा केही टाढा लगेर व्यवस्थापन गरिँदैछ । बस्ती नभएको स्थानमा भेटिएका मृत पशुलाई भने पशु प्राविधिकको समन्वयमा सोही स्थानमा गाड्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
हाल दैनिक पाँचदेखि सात वटासम्म मृत पशुको व्यवस्थापन भइरहेको छ । मृत पशुको व्यवस्थापनका लागि महानगर प्रहरीसँगै महानगरपालिकाका भेटेरिनरी प्राविधिकसमेत खटिएका छन् । भदौ १० गतेदेखि महानगर प्रहरीको टोली बाढीमा बेपत्ता भएका मानिसको शव खोजी तथा व्यवस्थापनमा पनि खटिएको छ । अहिले मानिससँगै बगेका मृत पशुचौपायाको व्यवस्थापनमा टोली निरन्तर लागि रहेको प्रमुख ढकालले बताउनुभयो ।






































