काठमाडौं । नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीमाथि संसद् र आफूलाई प्रधानमन्त्री बनाउने राजनीतिक शक्तिबाट टाढिएको आरोप लगाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले प्रधानमन्त्री संसद्मा आउँदा सांसद र सदन साथमा हुने, तर संसद्बाट टाढिएर ‘गुप्तवास’ बसेजस्तो गर्दा सरकार आफैं एक्लिँदै गएको टिप्पणी गरे।
उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै भने, ‘जुन दलले तपाईँलाई प्रधानमन्त्री दियो, त्यो दलसँग टाढा हुने, जुन संसद्ले तपाईँलाई प्रधानमन्त्री बनायो, त्यही संसद्बाट टाढा हुने हो भने राति एक्लै सुतेर स्टाटस लेख्दा तपाईँ एक्लै नभएर को हुन्छ ?’
शर्माले सरकारको सुरक्षा व्यवस्थापन र नेपाली सेनाको परिचालनको शैलीमाथि पनि गम्भीर प्रश्न उठाए। संवैधानिक व्यवस्थाअनुसार सेना परिचालन हुन सक्ने भए पनि त्यसको जिम्मेवारी र मर्यादालाई सरकारले हल्का रूपमा लिन नहुने उनको भनाइ थियो।
सुकुम्बासी बस्तीमा सेना पुग्ने तथा सुनसरीका सडकमा बन्दुकसहित गस्ती गर्ने अवस्थाप्रति उनले आपत्ति जनाउँदै सेनालाई आवश्यकता र औचित्यबिना परिचालन गर्दा संस्थाको मर्यादा कमजोर हुने दाबी गरे।
‘नेपाली सेनाको मर्यादालाई, नेपाली सेनाको निश्चित जिम्मेवारीलाई यति सस्तो किन बनाइएको छ ?’ भन्दै उनले प्रधानमन्त्रीसँग जवाफ मागे।शर्माले प्रधानमन्त्रीका विवादित अभिव्यक्तिसमेत सच्याउनुपर्ने भन्दै संसद्बाट आवश्यक रुलिङ गर्न सभामुखसँग माग गरे। उनको अभिव्यक्तिले सरकारको सुरक्षा नीति, सेनाको परिचालन र प्रधानमन्त्रीको संसद्सँगको सम्बन्धलाई लिएर प्रतिनिधिसभामै नयाँ राजनीतिक बहस सुरु भएको छ।






































