काठमाडौं । भुटानमा एकैपटक दुई मन्त्रीले पदबाट राजीनामा दिएपछि त्यहाँको राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। गृहमन्त्री ल्योन्पो छिरिङले नैतिकताको आधारमा राजीनामा दिएका छन् भने ऊर्जामन्त्री जेम छिरिङले उमेरलाई कारण बनाएका छन्।

गृहमन्त्री ल्योन्पोमाथि एक युवतीले यौन दुराचार, छली, धम्की तथा मनोवैज्ञानिक हानि पु¥याएको आरोप लगाएपछि विवाद चर्किएको थियो। आरोपसँगै सामाजिक सञ्जालमा समेत घटनासँग सम्बन्धित दाबी गरिएका सामग्री सार्वजनिक भएपछि भुटानमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठ्न थालेको थियो।

आरोप सार्वजनिक भएपछि भुटानभर गृहमन्त्रीविरुद्ध आक्रोश बढेको बताइएको छ। विवादले राष्ट्रको गरिमामाथि समेत असर परेको भन्दै ल्योन्पोले नैतिक जिम्मेवारी लिँदै पदबाट अलग हुने निर्णय गरेको भुटानी सञ्चारमाध्यमले जनाएका छन्।

यता ऊर्जामन्त्री जेम छिरिङको राजीनामा भने पूर्णतः फरक कारणले आएको छ। ६७ वर्षीय जेमले आफ्नो उमेरलाई कारण देखाउँदै मन्त्री पद छाडेका हुन्। एउटै समयमा दुई मन्त्रीले पद छाडे पनि उनीहरूको निर्णय पछाडिको कारण भने बिल्कुलै फरक देखिएको छ।गृहमन्त्रीको राजीनामा गम्भीर आरोपपछि उत्पन्न राजनीतिक तथा सार्वजनिक दबाबसँग जोडिएको छ भने ऊर्जामन्त्रीको निर्णय उमेरसँग सम्बन्धित रहेको बताइएको छ। यसरी भुटानमा एकैपटक भएका दुई राजीनामाले सरकारभित्र नैतिक जवाफदेहिता र जिम्मेवारी हस्तान्तरणका दुई फरक विषयलाई सतहमा ल्याएको छ।