काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको हात बढ्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन् ।
ह्वाइट हाउसमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेपालका अधिकारीहरूसँग सम्पर्क गरेर बाढीबाट भएको क्षतिबारे जानकारी लिएको र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका हुन् ।ट्रम्पले नेपालमा बाढीले पु-याएको क्षतिलाई गम्भीर रूपमा लिएको बताउँदै अमेरिकाले नेपाललाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने स्पष्ट पारेका छन् ।
अमेरिकाको प्रतिबद्धता वक्तव्यमा मात्र सीमित छैन । अमेरिकी विदेश मन्त्रालयले भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि आपत्कालीन राहतस्वरूप ५ लाख अमेरिकी डलर सहयोग घोषणा गरिसकेको छ । उक्त रकमबाट अस्थायी आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायता उपलब्ध गराइने बताइएको छ ।
भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु-याएपछि उद्धार र राहत अभियान तीव्र पारिएको छ । विपत्तिको प्रभाव नेपालमा मात्रै सीमित नरही ठूलो संख्यामा विदेशी नागरिकसमेत प्रभावित भएपछि घटनाले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ ।विशेषगरी कैलाश मानसरोवर यात्रामा रहेका विदेशी नागरिकहरूसमेत सम्पर्कविहीन भएपछि विभिन्न देशले आफ्ना नागरिकको अवस्थाबारे चासो बढाएका छन् । यही पृष्ठभूमिमा अमेरिकाले नेपाललाई आवश्यक सहयोगका लागि आफू तयार रहेको सन्देश दिएको हो ।
ट्रम्पको पछिल्लो प्रतिबद्धताले भोटेकोशी विपत्तिपछि नेपालका लागि अन्तर्राष्ट्रिय सहकार्यको दायरा थप फराकिलो हुने संकेत गरेको छ । अब उद्धार, राहत र प्रभावित क्षेत्रको पुनस्र्थापनामा अन्तर्राष्ट्रिय सहयोगलाई कसरी प्रभावकारी रूपमा परिचालन गर्ने भन्ने विषय महत्वपूर्ण बनेको छ ।





































