काठमाडौं । नेपालमा गएको विनाशकारी बाढी–पहिरोप्रति चीनले गहिरो दुःख व्यक्त गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार सीले शुक्रबार राष्ट्रपति पौडेललाई समवेदना सन्देश पठाएका हुन् । उनले विपत्तिबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै नेपालमा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।
नेपालमा विपत्ति आएलगत्तै चिनियाँ राष्ट्रपतिको समवेदना आएको हो । संयोगवश सीले शुक्रबार नै चीनमा आकस्मिक उच्चस्तरीय बैठकसमेत बोलाएका थिए ।बैठकमा नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा बाढी तथा पहिरोपछि देखिएको जोखिमबारे विशेष चासो दिइएको थियो । पहिरोका कारण नदी थुनिएर बनेको अवरोध तालमा पानीको मात्रा बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै अधिकारीहरूलाई निरन्तर निगरानी र आवश्यक पूर्वतयारी गर्न सीले निर्देशन दिएका छन् ।
बुधबार नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । विपत्तिपछि नेपाल र चीन दुवैतर्फ उद्धार तथा जोखिम न्यूनीकरणका प्रयास तीव्र पारिएका छन् ।सीको समवेदना सन्देशसँगै सीमावर्ती क्षेत्रमा देखिएको विपद्प्रति चिनियाँ नेतृत्वको उच्च तहसम्मै चासो रहेको देखिएको छ ।





































