चितवन । बजारमा अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्। तर अण्डाको मूल्य बढे पनि उत्पादन लागत धान्न नसकेको भन्दै किसानको संकट भने कायमै रहेको व्यवसायीहरूले बताएका छन्।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य तोकेको हो। जसअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ।

व्यवसायीका अनुसार पछिल्लो समय अण्डाको माग बढ्नुको मुख्य कारण उत्पादन घट्नु हो। बर्डफ्लुको संक्रमणका कारण ठूलो संख्यामा कुखुरा मर्नु, किसानले व्यवसायबाट हात झिक्नु र नयाँ उत्पादन घट्दै जानुले बजारमा अण्डाको आपूर्ति प्रभावित भएको उनीहरूको भनाइ छ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बजारमा मूल्य बढे पनि किसानले अझै उत्पादन लागतअनुसारको मूल्य पाउन सकेका छैनन्। उनका अनुसार एउटा अण्डा उत्पादन गर्न औसत १९ रुपैयाँ १२ पैसा लागत पर्छ। यस हिसाबले प्रतिक्रेट अण्डाको लागत करिब ५७३ रुपैयाँ ६० पैसा पुग्छ।

अहिले तोकिएको एक्सएल अण्डाको समर्थन मूल्य ५६० रुपैयाँ मात्रै रहेकाले किसानले लागतभन्दा कम मूल्यमा उत्पादन बेच्नुपर्ने अवस्था देखिएको छ। अर्थात् बजारमा अण्डाको माग बढेर मूल्य उकालो लाग्दा समेत उत्पादन गर्ने किसानको नाफा सुनिश्चित हुन सकेको छैन।

बर्डफ्लुको क्षतिपछि कुखुरापालन व्यवसायमा लगानी जोखिम बढेको व्यवसायीहरूको भनाइ छ। रोगका कारण कुखुरा मर्ने र उत्पादन भएको अण्डाले उचित मूल्य नपाउने दोहोरो समस्याले धेरै किसानलाई व्यवसायबाट पलायन हुन बाध्य बनाएको उनीहरू बताउँछन्।

पछिल्लो समय उत्पादन घटेपछि बजारको माग धान्न अण्डाको मूल्य बढाउनुपर्ने अवस्था आएको छ। तर किसानको लागत, बैंकको ऋण र उत्पादन जोखिमलाई सम्बोधन नगरेसम्म मूल्यवृद्धिले मात्र कुखुरापालन व्यवसायलाई टिकाउन नसक्ने व्यवसायीहरूको निष्कर्ष छ।