काठमाडौं / काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग(एनभीएल)मा जित हात पारेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ ले पराजित गर्यो । आफ्नो पहिलो खेलमा काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले विजयी भयो । दुई खेलमा मधेशको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मधेश सगरमाथा स्म्यासर्ससंग २५–२१, २५–२१, २३–२५ र २५–२१ ले चुकेको थियो । काठमाडौं रेड्सका अहमद मुस्ताफा खान ‘म्यान अफ द म्याच’ घोषित भए ।
अर्को खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो । सगरमाथाले पहिलो र दोस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट सगरमाथाले २५–१९ ले जित्यो । दुई खेलमा सगरमाथाको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा सगरमाथाले मधेशलाई ३–१ ले पाखा लगाउँदै विजयी सुरुआत गरेको थियो । सगरमाथाका आइमल खान ‘म्यान अफ द म्याच’ चुनिए ।
आइमल लगातार दोश्रोपटक ‘म्यान अफ द म्याच’ बनेका हुन् । मधेश विरुद्धको खेलमा पनि अइमल ‘म्यान अफ द म्याच’ बनेका थिए । प्रतियोगिता आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले काठमाडौं रेड्सको सामना गर्ने छ । दोस्रो खेल कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच हुनेछ । नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् ।
सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् । नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको फाइनल भदौ २८ गते हुनेछ । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलो पटक भएको हो ।





































