काठमाडौं / म्यानचेस्टर सिटीले प्रिमियर लिग इतिहासकै कीर्तिमानी १२५ मिलियन पाउन्ड खर्च गर्दै अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई अनुबन्ध गरेको छ।
क्लबले मंगलबार फर्नान्डेजसँग सन् २०३१ सम्मका लागि सम्झौता भएको औपचारिक घोषणा गरेको हो। २५ वर्षीय फर्नान्डेज चेल्सीबाट सिटी पुगेका हुन्। ईएसपीएनका अनुसार उनको ट्रान्सफर शुल्क १२५ मिलियन पाउन्ड रहेको छ, जुन प्रिमियर लिग इतिहासकै सबैभन्दा महँगो सम्झौतामध्ये एक हो। मेडिकल परीक्षण पूरा गरेपछि उनी आधिकारिक रूपमा सिटीमा आबद्ध भएका हुन्।
फर्नान्डेजले चेल्सीमा रहँदा युइएफए कन्फरेन्स लिग र फिफा क्लब विश्वकप जितेका थिए। त्यसअघि उनले अर्जेन्टिनाको रिभर प्लेट र पोर्चुगलको बेन्फिकाबाट उत्कृष्ट प्रदर्शन गर्दै युरोपेली फुटबलमा आफ्नो पहिचान बनाएका थिए। अन्तर्राष्ट्रिय फुटबलमा पनि उनी अर्जेन्टिनाका महत्वपूर्ण खेलाडी हुन्। उनले २०२२ को फिफा विश्वकप र २०२४ को कोपा अमेरिका जितेका छन् भने हालै सम्पन्न २०२६ विश्वकपमा अर्जेन्टिना उपविजेतामा सीमित भएको थियो।
सिटीमा आबद्ध भएपछि फर्नान्डेजले विश्वकै उत्कृष्ट क्लबमध्ये एकमा खेल्ने अवसर पाएकोमा उत्साहित रहेको बताएका छन्। क्लबका फुटबल निर्देशक ह्युगो भियानाले उनको आगमनले टोलीको मिडफिल्ड अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन्।






































