काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँटले ठूलो खेल सफलता हात पारेको दिन देशमा बाढीको विपत्ति झेलिरहेका नागरिकलाई सम्झिएका छन् । रोड टु युएफसीको फाइनलमा प्रवेश गरेपछि ढाँटले नेपाल अहिले कठिन अवस्थामा रहेकाले सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।शुक्रबार सेमिफाइनल जितेपछि प्रतिक्रिया दिँदै ढाँटले बाढीका कारण नेपालमा निकै गाह्रो अवस्था रहेको बताए । उनले व्यक्तिगत रूपमा मात्रै नभई सबैले आफ्नो क्षमता र ठाउँअनुसार विपत्तिमा परेकालाई सहयोग गर्नुपर्ने बताएका हुन् ।
‘अहिले नेपालमा धेरै नै गाह्रो अवस्था भइरहेको छ, बाढीका कारण । कृपया आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुहोला,’ उनले भने ।ढाँटले न्युजिल्यान्डका कासिब मर्डाकलाई पराजित गर्दै रोड टु युएफसीको फाइनलमा स्थान बनाएका हुन् । देशका लागि महत्वपूर्ण खेल जितेर फाइनल पुगेका उनले त्यसै क्षण आफ्नो व्यक्तिगत सफलताभन्दा देशमा भइरहेको विपत्तिलाई प्राथमिकता दिएका हुन् ।
अब ढाँटले उपाधिका लागि योर ताजिमासँग प्रतिस्पर्धा गर्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।फाइनल जित्ने खेलाडी यूएफसीका लागि छनोट हुनेछन् । यसअघि नै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फाइटरका रूपमा पहिचान बनाउँदै आएका ढाँटका लागि आगामी फाइनल नेपाली खेलकुदकै महत्वपूर्ण अवसर बनेको छ ।
तर फाइनलको तयारीसँगै ढाँटको पछिल्लो सन्देशले खेलाडीको अर्को भूमिका पनि देखाएको छ—देश संकटमा परेका बेला खेलको चर्चाभन्दा माथि उठेर विपत्तिमा परेकालाई सहयोगका लागि आवाज उठाउनु ।






































