काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किनुअघि नै संस्थापन इतर समूहले शक्ति प्रदर्शनको तयारी थालेको छ । यही साउन २८ गते नेपाल फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भव्य स्वागत गर्ने तयारी गरिएको हो ।
इतर समूहका नेता एनपी साउदका अनुसार देउवालाई स्वागत गर्न करिब ५ हजार नेता–कार्यकर्ता विमानस्थलमा भेला हुनेछन् । विमानस्थलमा स्वागत गरेपछि देउवालाई धुम्बाराहीस्थित निवाससम्म कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारीसमेत गरिएको छ ।
इतर समूहको राष्ट्रिय भेलालाई लक्षित गरेर उपत्यकाबाहिरबाट काठमाडौं आउने नेता–कार्यकर्ता तथा काठमाडौंमा रहेका प्रजातन्त्रवादीहरूलाई समेत देउवाको स्वागतमा विमानस्थल पुग्न आह्वान गरिएको छ ।
देउवाको स्वागतलाई सामान्य स्वागतभन्दा इतर समूहको राजनीतिक शक्ति र संगठनात्मक उपस्थितिको प्रदर्शनका रूपमा अघि बढाउने तयारी देखिएको छ । ठूलो संख्यामा नेता–कार्यकर्ता उतारेर देउवाप्रतिको समर्थन देखाउने रणनीति समूहले लिएको हो ।
विशेषगरी इतर समूहको राष्ट्रिय भेला नजिकिँदै गर्दा देउवाको स्वदेश फिर्तीलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । भेलाका लागि देशका विभिन्न क्षेत्रबाट काठमाडौं आउने नेता–कार्यकर्तालाई स्वागत कार्यक्रममा जोड्ने तयारीले विमानस्थलको कार्यक्रमलाई थप ठूलो बनाउने देखिएको छ ।
देउवालाई स्वागत गरेपछि कार्यकर्तासहित धुम्बाराहीस्थित निवाससम्म पुग्ने कार्यक्रमले कांग्रेसभित्रको शक्ति समीकरणमा समेत चासो बढाएको छ । ५ हजार नेता–कार्यकर्ता उतार्ने तयारी सफल भए यो कार्यक्रम देउवाको स्वागतसँगै इतर समूहको पहिलो ठूलो शक्ति प्रदर्शन बन्ने देखिन्छ ।






































