काठमाडौं । देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडित परिवारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य गम्भीर बन्दै गएपछि राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ ।

आयोगले मंगलबार अनशनस्थल माइतीघर पुगेर यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । अनुगमनका क्रममा उनको सुगर र रक्तचाप घट्दै गएको तथा लामो समयदेखि खाना नखाँदा स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको पाइएको आयोगले जनाएको छ ।

यादवको स्वास्थ्य जोखिमपूर्ण बन्दै गए पनि सरकारका तर्फबाट उपचार वा वार्ताका लागि प्रभावकारी पहल नभएको आयोगको भनाइ छ । त्यसैले तत्काल स्वास्थ्य उपचारको व्यवस्था गरी यादवको जीवन रक्षा गर्न र वार्तामार्फत समस्याको समाधान खोज्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

यादवको अनशन केवल स्वास्थ्यको विषयमा सीमित छैन । उनी देवानगञ्ज घटनाका पीडित परिवारसँग सरकारले गरेको सातबुँदे सहमति कार्यान्वयन गराउन दबाब दिँदै अनशनमा बसेका हुन् । साउन १५ गते गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच भएको सहमतिअनुसार मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता गरिएको थियो ।

सहमतिको अर्को महत्वपूर्ण बुँदामा मृतक दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने उल्लेख छ । घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने र मृतक परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धतासमेत सरकारले गरेको थियो ।

त्यसैगरी, घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने विषय पनि सातबुँदे सहमतिमा समेटिएको थियो ।

तर सहमति भएको लामो समय बित्दा पनि प्रतिबद्धता कार्यान्वयनमा पर्याप्त प्रगति नभएको भन्दै यादवले अनशन जारी राखेका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन गराउन दबाब दिँदादिँदै उनको स्वास्थ्य नै संकटमा परेपछि अब विषय मानवअधिकार र जीवनरक्षाको प्रश्नसमेत बनेको छ ।

आयोगले पनि सरकारलाई सहमति कार्यान्वयनतर्फ गम्भीर बन्न र अनशनरत यादवको स्वास्थ्य बिग्रिन नदिन तत्काल वार्ता तथा उपचारको पहल गर्न आग्रह गरेको छ । अब सरकारले यादवसँग वार्ता गरेर अनशन तोडाउने वातावरण बनाउँछ वा स्वास्थ्य अवस्था थप जटिल बन्न दिन्छ भन्ने विषयमा चासो बढेको छ ।