काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर संसद्मा जारी विवाद अब प्रधानमन्त्रीको स्पष्टीकरणबाट सभामुखको भूमिकातर्फ मोडिएको छ ।
नेकपा एमालेले प्रधानमन्त्रीले आफ्नै भनाइ फिर्ता लिने सम्भावना नरहेको निष्कर्ष निकाल्दै सभामुख डोलप्रसाद अर्याललाई विवाद समाधानका लागि सक्रिय हुन आग्रह गरेको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री ‘जिद्दी स्वभावको’ भएकाले रोस्ट्रममा आएर अभिव्यक्ति फिर्ता लिने आफूलाई नलागेको बताए । त्यसैले सभामुखले प्रधानमन्त्रीसँग संवाद गरेर अभिव्यक्ति सच्याउन पहल गर्नुपर्ने उनको आग्रह थियो ।
मण्डलले त्यतिमात्रै होइन, प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता नलिए संसद्को अभिलेखबाट उक्त भनाइ हटाउने प्रक्रिया अघि बढाउनसमेत सभामुखसँग आग्रह गरे ।
यससँगै लामो समयदेखि संसद्मा चलिरहेको विवादको समाधानको जिम्मेवारी अब सभामुखको भूमिकासँग जोडिएको छ । विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।
प्रधानमन्त्रीले गत जेठ १७ गते प्रतिनिधि सभामा नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएपछि सुरु भएको विवाद अझै टुंगिएको छैन । विपक्षी दलहरूले बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाउँदै आएका छन् ।
एमाले सांसद मण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई पनि संसद्मा विषयको सही–गलत छुट्याएर प्रस्तुत हुन आग्रह गरे । हरेक विषयमा ‘ढ्यापढ्याप’ गरेर समर्थन वा विरोध गर्ने शैलीले आगामी दिनमा उनीहरूलाई नै अप्ठ्यारो पर्ने उनको चेतावनी थियो ।
अब प्रधानमन्त्री आफ्नो भनाइमा कायम रहने र विपक्षीहरू मागबाट पछि नहट्ने अवस्थामा सभामुखले कस्तो संसदीय बाटो अपनाउँछन् भन्ने विषयले विवादको अर्को दिशा तय गर्ने देखिएको छ ।






































