बागलुङ— बागलुङमा पूर्ण अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–३ का ३२ वर्षीय होमे पतेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रहरीका अनुसार गत साउन २१ गते दिउँसो करिब ४ः३० बजे बडिगाड गाउँपालिका–१ घोरलोकमा विद्यालयबाट घर फर्किँदै गरेकी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप पतेलमाथि लागेको हो।

घटनाको सूचना प्राप्त भएपछि प्रहरीले पतेललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ परेका पतेलविरुद्ध जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।