काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै उनको जीवन रक्षाका लागि आवश्यक स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन गर्न माग गर्दै यादव साउन १४ गतेदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा छन्।
आयोगले यादवको स्वास्थ्य अवस्था तथा अनशनस्थलमा उपलब्ध स्वास्थ्य उपचारसम्बन्धी अवस्थाको स्थलगत अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा लामो समयदेखि खाना नखाई अनशनमा रहेका यादवको सुगर तथा रक्तचाप घट्दै गएको र स्वास्थ्य अवस्था थप जोखिमपूर्ण बन्दै गएको पाइएको आयोगले जनाएको छ।
अनशन सुरु भएको १२ दिन बितिसक्दा पनि सरकारका तर्फबाट यादवको स्वास्थ्य उपचार तथा माग सम्बोधनका लागि वार्ताको पहल नभएकोप्रति आयोगले चिन्ता व्यक्त गरेको छ।
आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले साउन २६ गते जारी गरेको विज्ञप्तिमार्फत अनशनरत यादवको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा यादवको प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गरी जीवन रक्षा गर्न तथा समस्याको समाधान वार्ताका माध्यमबाट खोज्न नेपाल सरकारलाई आग्रह गरिएको छ।






































