काठमाडौं । नेपालको सवारी बजार पेट्रोल–डिजेलबाट विद्युतीय तथा नयाँ प्रविधितर्फ तीव्र रूपमा मोडिँदै गर्दा त्यसको झल्को काठमाडौंको भृकुटीमण्डपमा देखिएको छ । मंगलबारदेखि सुरु भएको दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा एकै ठाउँमा नयाँ सवारीसाधन, प्रविधि र मोबिलिटीसँग जोडिएका सेवाहरू प्रदर्शनमा राखिएका छन् ।


नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको एक्स्पो ६ दिनसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार यसपटक ५५ भन्दा बढी ब्रान्ड र ५१ वटा स्टल सहभागी छन् । एक्स्पोमा ४० भन्दा बढी नयाँ मोडल तथा उत्पादन सार्वजनिक गर्ने तयारी गरिएको छ ।


एक्स्पोको मुख्य आकर्षण चारपांग्रे, दुईपांग्रे र व्यावसायिक सवारीसाधन बनेका छन् । विशेषगरी विभिन्न ब्रान्डका नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनमा छन् । नेपालमा भित्रिएका नयाँ मोडल र आधुनिक प्रविधिलाई उपभोक्ताले एउटै स्थानबाट प्रत्यक्ष हेर्न र तुलना गर्न पाउने व्यवस्था गरिएको छ ।


तर एक्स्पो सवारीसाधन प्रदर्शनमै सीमित छैन । ब्याट्री, चार्जिङ स्टेसन, अटो पार्टपुर्जा र सवारीसाधनका एक्सेसरिजदेखि बैंक तथा बीमा सेवासम्मलाई एउटै प्लेटफर्ममा जोडिएको छ । सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि बैंक तथा वित्तीय संस्थाले विशेष अफर र सहुलियत कर्जाका योजनासमेत ल्याएका छन् ।


नेपालको मोबिलिटी बजारमा भइरहेको परिवर्तनलाई एक्स्पोले पनि स्पष्ट रूपमा देखाएको छ । परम्परागत इन्जिन भएका सवारीसाधनसँगै विद्युतीय र वैकल्पिक प्रविधिमा आधारित सवारीसाधनको उपस्थिति बढेको छ । यसले आगामी दिनमा नेपालको यातायात बजार कता जाँदैछ भन्ने संकेतसमेत दिएको छ ।


एक्स्पोमा सडक दुर्घटना, दुर्घटनापछिको तत्कालीन उपचार तथा हेरचाह, यातायात क्षेत्रमा लगानी, युवा सशक्तीकरण, ब्याट्री रिसाइकल, कृत्रिम बुद्धिमत्ता, प्रविधि तथा सीप विकासलगायत विषयमा बहस र अन्तक्र्रिया पनि हुनेछन् ।


नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोलाई नयाँ कार वा बाइक देखाउने थलोमा मात्र सीमित नराखी आधुनिक, दिगो र पहुँचयोग्य मोबिलिटी प्रवद्र्धन गर्ने साझा प्लेटफर्मका रूपमा विकास गर्ने उद्देश्य रहेको बताएकी छन् ।


त्यसैले यसपटकको मोबिलिटी एक्स्पोमा प्रश्न ‘कुन गाडी नयाँ आयो ?’ मा मात्र सीमित छैन । नेपालको यातायात प्रणाली विद्युतीय सवारी, स्मार्ट प्रविधि, चार्जिङ पूर्वाधार र हरित मोबिलिटीको दिशामा कति अगाडि बढिरहेको छ भन्ने तस्वीरसमेत भृकुटीमण्डपमा देखिएको छ ।