काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलहरूको लगातार विरोध भइरहेका बेला प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद अर्यालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।
पछिल्ला दिनमा प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउँदै आएका छन् । प्रधानमन्त्री शाहले गत जेठ १७ गते संसद्मा दिएको भारतसम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले स्पष्टीकरण दिनुपर्ने तथा उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग राख्दै आएका छन् ।
यही पृष्ठभूमिमा प्रधानमन्त्री र सभामुखबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि भेटमा संसद्मा देखिएको विरोध, विवादित अभिव्यक्ति वा त्यसको समाधानबारे ठोस रूपमा के छलफल भयो भन्ने कुरा सभामुखको सचिवालयले खुलाएको छैन ।
प्रधानमन्त्री र सभामुखबीचको भेटपछि संसद्मा जारी विवाद समाधानका लागि कुनै नयाँ पहल हुने हो कि भन्ने चासो बढेको छ । तर सचिवालयले भने भेटलाई समसामयिक विषयमा केन्द्रित सामान्य छलफलका रूपमा मात्र जानकारी दिएको छ ।
संसद्मा विपक्षीको विरोध जारी रहँदा कार्यपालिका प्रमुख प्रधानमन्त्री र व्यवस्थापिका प्रमुख सभामुखबीच भएको यो भेटले आगामी प्रतिनिधि सभा बैठक र राजनीतिक वातावरणबारे थप चासो पैदा गरेको छ ।






































