काठमाडौं । देशभर खाना पकाउने ग्यासको अभाव देखिएर सर्वसाधारण घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था बनेका बेला उद्योगमन्त्री गौरीकुमारी यादवको कार्यशैलीमाथि प्रतिनिधिसभामै प्रश्न उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले ग्यास आपूर्ति सहज बनाउने जिम्मेवारी बोकेको मन्त्रालय नै प्रणाली सुधारभन्दा व्यक्तिगत रूपमा ग्यास वितरणमा केन्द्रित भएको आरोप लगाएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले उद्योगमन्त्री यादवले ग्यासको समस्या समाधान गर्न प्रभावकारी आपूर्ति व्यवस्थापन गर्नुको सट्टा व्यक्तिहरूलाई फोन गरेर उनीहरूको घरमा ग्यास छ कि छैन भनेर सोध्ने र केहीलाई व्यक्तिगत रूपमा ग्यास उपलब्ध गराउने गरेको दाबी गरिन्। देशभरका उपभोक्ता चर्को घाममा ग्यासका लागि लाइन बसिरहेका बेला मन्त्रीले केही व्यक्तिलाई फोन गरेर ग्यास पु¥याउँदै हिँड्नुले समस्याको वास्तविक समाधान नहुने उनको भनाइ छ।

ओलीले प्रश्न गरिन्, ‘के मन्त्रीको काम व्यक्ति–व्यक्तिलाई ग्यास बाँड्दै हिँड्ने हो?’ उनका अनुसार मन्त्रीले दश, बीस वा तीस जनालाई फोन गरेर ग्यास उपलब्ध गराए पनि हजारौँ–लाखौँ उपभोक्ताको समस्या त्यसरी समाधान हुन सक्दैन। त्यसका लागि ग्यासको वितरण प्रणाली नै प्रभावकारी बनाउनुपर्ने उनले बताइन्।

उनले मन्त्री यादवले व्यक्तिगत तवरमा दया गरेजस्तो गरी केही व्यक्तिलाई ग्यास बाँडिरहेको आरोपसमेत लगाइन्। आफूहरूले सरकारबाट व्यक्तिगत राहत वा कृपा नभई व्यवस्थित आपूर्ति प्रणाली खोजेको उनको भनाइ थियो। ‘हामीले राज्यको दया होइन, व्यवस्थापन खोजेका हौँ,’ ओलीले भनिन्।

मन्त्रीले सरकारको आलोचना गर्ने व्यक्तिहरूको घरमा समेत ग्यास पु¥याउने गरेको आरोप लगाउँदै ओलीले यस्तो कार्यशैलीमाथि प्रधानमन्त्रीले गम्भीर रूपमा प्रश्न गर्नुपर्ने बताइन्। उनले उद्योगमन्त्री यादवलाई स्पष्टीकरण सोध्न प्रधानमन्त्री बालेन शाहसँग आग्रहसमेत गरिन्।

ग्यासको अभावका कारण सर्वसाधारणले सास्ती खेपिरहेका बेला केही व्यक्तिलाई व्यक्तिगत रूपमा ग्यास उपलब्ध गराउने प्रयासले समस्या समाधान नगर्ने भन्दै ओलीले आपूर्ति प्रणालीलाई नै सहज र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन्। उनको अभिव्यक्तिसँगै ग्यास संकट व्यवस्थापनमा ‘व्यक्तिगत पहुँच कि राज्यको प्रणाली?’ भन्ने प्रश्न संसद्मा बहसको विषय बनेको छ।