धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार संकटको अन्तिम मोडमा पुगेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत जुटाउन कठिन देखिएसँगै मुख्यमन्त्री शाह राजीनामा दिने मनस्थितिमा पुगेको उनीनिकट स्रोतले जनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले निर्धारित समयभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने अवस्था छ। विश्वासको मतका लागि आवश्यक समर्थन जुट्ने सम्भावना कमजोर बनेपछि शाहले राजीनामाको विकल्प रोज्ने तयारी गरेको स्रोतको दाबी छ।
मुख्यमन्त्रीको सम्भावित राजीनामासँगै अब सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुल्नेछ। यही कारण नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले बुधबार दिउँसो २ बजे बैठक बोलाएको छ। बैठकमा मुख्यमन्त्री शाहको आगामी कदमबारे छलफल हुने कांग्रेस प्रमुख सचेतक सरस्वती खड्काले बताएकी छन्।
मुख्यमन्त्री शाहले राजीनामा दिने तयारी गरिरहँदा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयले पनि प्रदेशको राजनीति तातेको छ। केन्द्रमा भएको सत्ता समीकरणअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन्।
यससँगै सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार विस्थापित गरेर एमालेको समर्थनमा नेकपाको नेतृत्वमा नयाँ सरकार बनाउने कसरत अघि बढेको छ। शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने र त्यसपछि दलहरूले बहुमतको आधार प्रस्तुत गर्नेछन्।
मुख्यमन्त्री शाह भने राजीनामाको औपचारिक प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा समेत परामर्शमा छन्। उनले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने कि सोझै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने भन्नेबारे छलफल गरिरहेको स्रोतले जनाएको छ।
केही दिनअघि काठमाडौं गएका शाह सोमबार कैलाली फर्किएपछि आफू निकट नेता तथा मन्त्रीहरूसँग निरन्तर छलफलमा छन्। विश्वासको मत लिनुभन्दा राजीनामा दिएर सत्ता हस्तान्तरणको बाटो खोल्नु नै उपयुक्त हुने निष्कर्षमा उनी पुगेको स्रोतको भनाइ छ।






































