म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा मंगलबार बिहान सुक्खा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्। पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत गृहमा समेत क्षति पु¥याएको छ। 

विद्युतगृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो अचानक खसेर विद्युत्गृह पुरिएको थियो। पहिरोमा परेर आयोजनामा कार्यरत अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्।

घटनामा गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्। उनलाई घटनास्थलबाट उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

बेपत्ता बरुवालको खोजीका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी परिचालन भएका छन्। उद्धार टोलीले पहिरो हटाउँदै बरुवालको खोजी गरिरहेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिएका छन्।

पहिरोले आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन बन्द भएको छ। म्याग्दी हाइड्रोपावर प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना पहिरोका कारण ठप्प भएको हो।

यस घटनाले एकातर्फ आयोजनामा कार्यरत श्रमिकको ज्यान जोखिममा पारेको छ भने अर्कोतर्फ विद्युत्गृहका महत्वपूर्ण उपकरणमा क्षति पुग्दा आयोजनाको विद्युत् उत्पादनसमेत रोकिएको छ।

अहिले सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले बेपत्ता श्रमिकको खोजीलाई प्राथमिकता दिएको छ। घटनास्थलमा थप पहिरोको जोखिमसमेत रहेकाले उद्धार टोलीले सावधानीपूर्वक खोजी तथा उद्धारको काम अघि बढाइरहेको छ।