काठमाडौं / भारतको झारखण्डमा विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको विरोधमा भारतीय जनता पार्टी (भाजपा) ले मंगलबार राज्यव्यापी बन्द आह्वान गरेको छ।
परीक्षा तथा सरकारी कर्मचारी भर्ती प्रक्रियामा कथित अनियमितताको विरोधमा जारी विद्यार्थी आन्दोलनले राजनीतिक रूप लिएपछि राज्यमा तनाव बढेको हो। सोमबार झारखण्ड लोकसेवा आयोग (जेपीएससी) र झारखण्ड स्टाफ सेलेक्सन कमिसन (जेएसएससी) का परीक्षार्थीले विधानसभातर्फ गरेको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज, अश्रुग्यास तथा पानीको फोहोरा प्रयोग गरेको थियो।
त्यसको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले मंगलबार पुरानो विधानसभादेखि नयाँ विधानसभासम्म विरोध प्रदर्शन गरेको छ। विपक्षी दलका नेता तथा भाजपा नेता बाबुलाल मरान्डीले विद्यार्थीमाथि बल प्रयोग गरेर उनीहरूको आवाज दबाउन नसकिने बताएका छन्। उनले जेएसएससीको संयुक्त स्नातक तह (सीजीएल) परीक्षामा भएको भनिएको अनियमितताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) बाट निष्पक्ष छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग दोहोर्याए।
यता सत्तारूढ झारखण्ड मुक्ति मोर्चा (जेएमएम) की सांसद महुआ माजीले भने भाजपाले विद्यार्थी आन्दोलनलाई राजनीतिक रंग दिन खोजेको आरोप लगाएकी छन्। उनका अनुसार विद्यार्थीका अधिकांश माग सरकारले सम्बोधन गरिसकेको छ भने बाँकी विषय अध्ययनकै क्रममा छन्।
माजीले सीजीएल परीक्षा रद्द गर्ने विषय अदालतमा विचाराधीन रहेकाले तत्काल निर्णय गर्न नसकिने बताउँदै परीक्षा रद्द गर्दा परीक्षामा सहभागी अन्य युवामाथि अन्याय हुन सक्ने तर्क गरिन्। साथै मुख्यमन्त्री हेमन्त सोरेनले विद्यार्थीका मागबारे अध्ययन गर्ने आश्वासन दिएको पनि उनले उल्लेख गरिन्।
विद्यार्थी आन्दोलन र त्यसपछि विकसित राजनीतिक विवादका कारण राँचीसहित झारखण्डका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। परीक्षा तथा भर्ती प्रक्रियामा पारदर्शिता र निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन अझै जारी रहेको छ।






































