काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा मंगलबार विभिन्न प्रदेशमा वर्षाको गतिविधि बढ्ने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था छ।

मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तरतर्फ र पूर्वी भूभागमा सरदर आसपास रहेकाले पश्चिम नेपालमा वर्षाको गतिविधि तुलनात्मक रूपमा बढी सक्रिय हुने देखिएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने पूर्वानुमान छ। यी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि रहेको छ।

कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसमविद्हरूले बताएका छन्। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

पूर्वी तथा मध्य नेपालमा पनि वर्षाको सम्भावना टरेको छैन। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने तथा तराईका केही स्थानमा समेत वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

मौसममा आएको यो सक्रियताले सडक यातायात, पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्ने जोखिम निम्त्याउन सक्ने भएकाले यात्रु तथा सर्वसाधारणलाई मौसमको अवस्था हेरेर यात्रा गर्न सुझाइएको छ।

राति पनि हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। ती भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने तथा तराईका एक–दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ। मनसुन सक्रिय रहेकाले स्थानीय तह तथा सम्बन्धित निकायलाई सम्भावित वर्षाजन्य जोखिमबारे आवश्यक तयारी अवस्थामा रहनुपर्ने देखिएको छ।