काठमाडौँ / १ करोड २२ लाख रुपैयाँ रकम ठगी गरेको आरोपमा काठमाडौँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका –१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौँ महानगरपालिका १३ ताहाचलका २८ वर्षीय रोजन भुजेल रहेका छन् ।
आफूलाई प्लास्टिक सर्जन डा. बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने एक विदेशी नागरिकले कोर्सको लागि मलेसिया आएको र आफूसँग भएको सबै रकम लुटिएको भन्दै पीडितको सामाजिक सञ्जालमा सहयोग स्वरुप पैसा मागेका थिए ।
सहयोग गरेमा आफू बेलायत पुगेर दोब्बर रकम फिर्ता दिन्छु भन्दै उक्त व्यक्तिले प्रलोभन देखाएका थिए । पीडित व्यक्तिले प्रलोभनमा परेर भण्डारी र भुजेलको बैक खातामा एक करोड भन्दा बढी रकम पठाएका थिए ।
उक्त व्यक्तिले बिभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिसहरूबाट थप रकम समेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका –९ एयरपोर्टबाट पक्राउ गरेको हो ।