OM Sai Pathibhara Hospital

बारा, । परीक्षा स्थगित गरी विद्यालयमा राजनीतिक दलको चुनाव गरेको विरोधमा विद्यार्थीले विद्यालयमा तोडफोड सहित आगजनी गरेका छन् । बाराको महागढीमाई नगरपालिका १० गञ्जभवानीपुर स्थित रहेको भोला माध्यमिक विद्यालयका विद्यार्थीले टेबल, बेञ्च र कुर्सी तोडफोड गरी आगजनी गरेका हुन् ।

मङ्सिर १२ गतेदेखि सुचारु परीक्षा स्थगित गरी बिहीबार बारा निर्वाचन क्षेत्र नम्बर – २ को नेपाली कांग्रेसको क्षेत्रीय चुनाव गर्न लागेको भन्दै कक्षा ६ देखि प्लस टुका विद्यार्थीले करिब एक दर्जन टेबल, बेञ्च र कुर्सी तोडफोड गरी आगजनी गरेका बारा प्रहरीले जनाएको छ ।

परीक्षा स्थगित गरी राजनीतिक चुनाव गर्न लाग्दा एक दिन पहिले नोटिस वा सार्वजनिक सूचना प्रकाशित गर्नुपर्नेमा विद्यालयका प्राधानाध्यापक मोहनप्रसाद साह तेलीले त्यसो नगरेको भन्दै विद्यार्थीको समूह आक्रोशित भएर तोडफोड गरेको विद्यार्थीले बताएका छन् ।

विद्यालयमा राजनीतिक वा विद्यार्थीलाई मर्का नपर्ने गरी शिक्षा ऐन लागू भए पनि स्थानीय नेताहरूले अहिले पनि विद्यालयलाई राजनीतिक अखड बनाएको भन्दै विरोध भएको विद्यार्थी रामजी प्रसादले जानकारी दिएका छन ।

विगत दुई वर्षदेखि विद्यार्थीको पढाइ कोभिड –१९ कोरोना महामारीको कारण लथालिङ्ग हुँदै आएको र बल्लतल्ल पढाइ शुरु भए पनि नेताहरूको चुनावले विद्यार्थीको परीक्षा स्थगित गर्नु जायज नरहेको स्थानीय अभिभावक श्रीनारायण कुशवाहाले बताए ।