चितवन / मंसिर १९ गतेदेखि सुरु हुने बाघ गणनाका लागि आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा दुई दिने तालिम सुरु गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संयोजन गरेको यस तालिममा जेडएसएल, विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, वन विभाग लगायतका प्राविधिक विज्ञले तालिम दिनेछन् ।
यहाँ ३६० जोडी क्यामेरा जडान गरिने छ । उनका अनुसार दुई हप्ता एक ठाउँमा राखेर बाघको तस्बिर लिइने छ । दुई निकुञ्जको एउटा ब्लकमा १६ क्याम्प बनाइएको छ ।
आधा मिटरका उचाइमा क्यामेरा राखिने छ । कतिपय ठाउँमा रुखमा र नमिलेमा घोचो गाडेर स्वचालित क्यामेरा जडान गरिने छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ ।
सन् २००८ देखि यहाँ राष्ट्रिय स्तरको बाघ गणना सुरु गरिएको हो । दोस्रो पटक सन् २०१३, तेस्रो पटक सन् २०१८ र अहिले चौथो पटक बाघ गणना गर्न लागिएको हो ।
सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यति बेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ ।
सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
नेपालमा हरेका चार–पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीको उपस्थितिमा यही आइतबार गणनाको शुभारम्भ सौराहामा गरिने छ ।