काठमाडौँ / कानुन व्यवसायिहरूले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि आज (बुधबार) को सुनुवाइ प्रभावित भएको छ । 

प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको बताउँदै आज प्रधानन्यायाधीश को हो ? भन्दै कानुन व्यवसायिहरूले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित भएको हो । 

OM Sai Pathibhara Hospital

संविधानको धारा १२९ को (६) मा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ । 

तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमण भएपछि सोमबार देखि बलम्बुस्थित सशस्त प्रहरी बलको अस्पतालमा उपचाररत छन् । 

प्रधानन्यायाधीश बिनानै न्यायाधीशहरूले गोलाप्रथाबाट इजलास गठन गरेर मुद्दा सुनुवाइ गर्न थालेपछि नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशले कायममुकायम कसलाई दिइएको छ भन्दै प्रश्न उठाएका थिए । 

सर्वोच्च अदालतमा आज (बुधबार) देखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ ।

नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो ।

गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन २ वटा एकल इजलास सहित ११ वटा इजलास तोकिएका छन् ।