काठमाडौँ / सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । नेपालमा पहिलो पटक सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिएको हो ।
गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन आज दुईवटा एकल इजलास सहित कुल १० वटा इजलास गठन भएका छन् ।
‘कमन ल’ प्रणाली अपनाउने अन्य मुलुकमा जस्तै नेपालमा पनि कुन मुद्दा कुन न्यायाधीशले हेर्ने भन्ने निर्णय गर्ने अन्तिम अधिकार प्रधानन्यायाधीशमा थियो ।
तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उक्त अधिकारको व्यापक दुरुपयोग गरेको गुनासो बढेसँगै सर्वोच्चका न्यायाधीशहरूले पूर्ण बैठक बसी गोला प्रणालीबाट पेसी तोक्ने व्यवस्था गरेका हुन् ।
प्रधानन्यायाधीश जबरा न्यायिक विचलनमा परेका जस्ता आरोपसहित ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन् ।
गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् ।
न्यायाधीश मीरा खड्का र डा. कुमार चुडालको एकल इजलास गठन भएको छ भने न्यायाधीश हरिकृष्ण कार्की, सुक्ष्मालता माथेमा, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलास गठन भएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भने मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि हो ।
त्यसैगरी डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ । प्रकाशमान सिंह राउत र हरि फुँयालको अर्को इजलास गठन भएको छ ।
अर्को इजलास सपना प्रधान मल्ल र प्रकाश ढुङ्गानाको छ । अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहेको छ ।