बझाङ \ बझाङको छबिस पाथिभरा गाउँपालिका वडा नं ०७ स्थित मजखोरी माध्यामिक विद्यालयका प्रधानाध्यापक जनक बोहराले आफू असक्षम प्रधानाध्यापक भएको घोषणा गरेका छन् । विद्यालयको प्रशासन सञ्चालन गर्न नसकेको भन्दै बोहराले आफूलाई असक्षम भएको स्वीकार गरेका छन् । शैक्षिक प्रशासन सञ्चालन गर्न नसकेको असक्षमता व्यक्त गर्दै बोहराले केही दिनभित्र राजिनामा दिने घोषणा समेत गरेका छन् ।
बिहीबार नेपाल आजको स्थलगत रिपोटिङको क्रममा विद्यालय परिसरमा हिसाब किताब गर्नु छ भन्दै घाम तापेर बसेका असक्षम प्रधानाध्यापक बोहराले राजिनामा दिने घोषणा गरेका हुन् ।
विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न नसकेको, आर्थिक क्रियाकलाप पारदर्शी नगरेको, शिक्षक नियुक्ति गर्दा सेटिङ गरेको लगायतका आरोपहरुले शिक्षकको घेराबन्दीमा परेपछि बोहरा राजिनामा दिन तयार भएका छन् ।
बोहरा प्रधानाध्यापक भएदेखि नै विद्यालयको सामाजिक परिक्षण नगरेको, विद्यालयमा आएको बजेटको चरम दुरुपयोग गरेको तथा शैक्षिक गुणस्तर कायम गर्न नसकेकोले शिक्षकहरूले त्यसको प्रतिरोध गरेको शिक्षक रामचन्द्र मण्डेलले बताए ।
जनक बोहरा प्रधानाध्यापक हुँदा खुले आम विद्यालयको रकम अपचलन गरेको शिक्षक मण्डेलको भनाई छ । विद्यालयमा विनियोजित बजेटमा कागज मिलाएर पैसा खाएको देखियो । पुस्तकालयका लागि आएको ६ लाख ५० हजार बराबरको रकममा कागज मिलाएर खाएको देखिएपछि हामीले विल र किताबको हिसाब गछौँ भन्दा एक लाख फिर्ता गर्छु भनेका छन् । उनले भने ।
पुस्तकालय स्थापना गरेको २ वर्षसम्म सबै रकमको किताब ल्याए भनेका थिए । हामीले बिल पेश गर्नुस् भन्दा अटेरी गर्थे । बिहीबार सबै शिक्षकहरूले बाध्य बनाएपछि बिल देखाउन त तयार भएनन् तर एक लाख फिर्ता गर्छु भनेका छन् । एक लाख फिर्ता गर्छु भन्नुले प्रधानाध्यापक बोहराले रकम दुरुपयोग गरेको पुष्टि गर्छ । शिक्षक मण्डेलको भनाई छ ।
प्रधानाध्यापक बोहराले पुस्तकालय स्थापना गर्दा, आईटी ल्याब स्थापना गर्दा, विद्यालय भवन निर्माण गर्दा आर्थिक अनियमितता गरेको शिक्षकहरूको आरोप छ ।
आईटी ल्याब स्थापना गर्दा ल्याएको प्रिन्टरले एक पटक पनि काम नै नगरेको शिक्षक गोविन्द धामीले बताए ।
गत आर्थिक वर्ष निर्माण भएको ४२ लाख बराबरको विद्यालय भवनको काम अझै पुरा भएको छैन । प्रदेश सरकारको सामाजिक विकास शाखाबाट कागजात पेश गरेर रकम भुक्तानी लिइसके पनि विद्यालयमा काम भने सम्पन्न भएको छैन ।
करिब एक लाख ५० हजारको फर्निचरको बिल पेश गरेर गत असारमा भुक्तानी लिएपनि मङ्सिरसम्म विद्यालयमा फर्निचर भने एउटा पनि छैन । दुई तला भएको विद्यालय भवनको सिढी मा समेत प्लास्टर गरिएको छैन ।
प्रधानाध्यापक बोहरालाई नेपाल आजले तपाइले पुस्तकालयको पैसा अपचलन गरेको हो । भनेर प्रश्न गर्दा एक लाख विद्यालयलाई फिर्ता गरेको बताए । तर बिल भरपाई के छ भन्ने प्रश्नमा भने उनले बिल देखाउन नसकिने प्रतिक्रिया दिए ।