रूपन्देही / बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अर्घाखाँचीका ४३ वर्षीय बसन्त भुसाल रहेका छन् । भुसाल विद्युत प्राधिकरण बुटवलका कर्मचारी हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार भवनमा विद्युत पोलबाट लाइन तान्ने क्रममा करेन्ट लागेर भुसालसहित सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका –१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका थिए ।
करेन्ट लागेर घाइते भएका उनीहरूलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उपचारको क्रममा भुसालको सोही अस्पतालमा मृत्यु भएको प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार घाइते अन्य दुई जनाको भने अवस्था सामान्य रहेको छ ।