काठमाण्डौ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ वटा सामाजिक सञ्जाल खातालाई कारबाही गरेको छ । 

फेसबुक तथा युट्युबका ती खाताहरूले अश्लील, उत्तेजक सामग्रीहरू प्रेषित गरिहरेको काउन्सिलको विशेष अनुगमनबाट पत्ता लागेपछि कारवाही गरिएको हो ।

गलत, अफवाहपूर्ण, गालीगलौजयुक्त, राष्ट्रियता र स्वाधीनताविरुद्ध सामाजिक सद्भाव खलल पार्ने, हिंसालाई बढवा दिने, उत्तेजक किसिमबाट अतिरञ्जित शीर्षक एवं थम्बनेल बनाई जनमानसमा भ्रम र त्रास फैलाउनु प्रचलित कानुन एवं पत्रकार आचारसंहिताविपरीत कार्य भएको काउन्सिलले जनाएको छ ।

अनुगमनको क्रममा मिडियाअन्तर्गत आबद्ध र मिडियाकै झल्को दिने गरी सञ्चालित सामाजिक सञ्जालबाट यस्तो कार्य भइरहेको देखिएको थियो । ती खाताबाट सम्प्रेषित सामग्री प्रथम दृष्टिमै आचारसंहिता प्रतिकूल देखिएकोले कारबाही प्रक्रिया सुरु गरिएको हो ।

कुनै सम्पर्क ठेगाना नभएका १३ वटालाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार भएको काउन्सिलले जनाएको छ ।