काठमाडौं ।सेयर बजारमा सक्रिय लगानीकर्ताका लागि सीडीएस एन्ड क्लियरिङ सीडीएससी ले महत्त्वपूर्ण चेतावनी जारी गरेको छ। साउन १५ गतेभित्र डिम्याट र मेरो सेयरको वार्षिक नवीकरण शुल्क नबुझाए १६ गतेदेखि डिम्याट खाता रोक्का हुने भएको छ।

खाता रोक्का भएपछि सेयर किनबेच, आईपीओ तथा एफपीओ आवेदन, हकप्रद सेयर भर्ने र सेयर हस्तान्तरण जस्ता सेवा प्रयोग गर्न पाइने छैन। अर्थात् शुल्क नतिरेको एउटा सानो लापरबाहीले लगानीकर्ताको सम्पूर्ण सेयर कारोबार नै रोक्न सक्छ।हाल देशभर ८० लाखभन्दा बढी डिम्याट खाता र ५१ लाखभन्दा बढी सक्रिय मेरो सेयर प्रयोगकर्ता रहेका छन्। सबैलाई समयमै शुल्क तिर्न सीडीएससीले आग्रह गरेको छ।

डिम्याट खाताको वार्षिक शुल्क रु १०० र मेरो सेयरको रु ५० तोकिएको छ। यी दुवै शुल्क घरमै बसेर मेरो सेयरमार्फत इसेवा, खल्ती, प्रभु पे, आईएमई पे वा कनेक्ट आईपीएस प्रयोग गरी केही मिनेटमै भुक्तानी गर्न सकिन्छ। सीडीएससीका अनुसार यस वर्ष असार मसान्तसम्म तिर्नुपर्ने समयसीमा थप गरी साउन १५ सम्म अन्तिम अवसर दिइएको हो। त्यसपछि खाता स्वतः रोक्का हुने भएकाले समयमै नवीकरण गर्न लगानीकर्तालाई आग्रह गरिएको छ।