धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीको आन्दोलनले नयाँ मोड लिएको छ। बिहीबारदेखि सुरु भएको अनशनका बीच आइतबार सरकार र डा. केसी पक्षबीच औपचारिक वार्ता सुरु भएको हो।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा भइरहेको वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा सहभागी छन्।

डा. केसीका तर्फबाट उनका सहयोगी डा.अमृत जैशी र पवन थापा वार्तामा सहभागी भएका छन्। वार्तामा डा। केसीले उठाएका मागहरू, तिनको कार्यान्वयनको सम्भावना तथा आन्दोलनको निकासबारे छलफल भइरहेको स्रोतहरूले बताएका छन्। डा. केसीले स्वास्थ्य सेवा सुधार, चिकित्सा शिक्षामा पारदर्शिता र विगतमा भएका सहमतिहरू कार्यान्वयनको माग गर्दै अनशन सुरु गरेका थिए। आन्दोलन लम्बिँदै जाँदा उनको स्वास्थ्य अवस्थाप्रति पनि चासो बढिरहेको छ।

यस अवस्थामा सुरु भएको वार्तालाई आन्दोलन समाधानतर्फको पहिलो औपचारिक प्रयासका रूपमा हेरिएको छ। वार्ता सकारात्मक निष्कर्षमा पुगे अनशन अन्त्य हुने सम्भावना रहनेछ, अन्यथा आन्दोलन थप सशक्त बन्न सक्ने आकलन गरिएको छ।